शोकमा सलमान खान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान यो समय शोकमा छन् । संसारभर कोरोना भाइरसको प्रकोपका कारण निजी फार्म वाउसको क्वारेन्टाइनमा बसिरहेका सलमान आफ्ना भान्जा अब्दुल्ला मिर्जा खानको निधनका कारण शोकमा परेका हुन् । सलमानले ट्वीटरमा एक ट्वीट गर्दै आफू शोकमा परेको जनाएका छन् ।

उनले ट्वीटरमा आफ्नो र भान्जा अब्दुल्लाको श्यामस्वेत तस्बिर साझा गर्दै भावुक पोस्ट लेखेका छन् । ‘तिमीलाई जहिल्यै प्रेम गर्नेछु’, उनले लेखेका छन् । अब्दुल्ला सलमानको बीइङ स्ट्रङ अभियानका एक हिस्सा थिए । अब्दुल्ला सलमानका पिता सलीम खानका बहिनीका छोरा हुन् ।

समाचार अनुसार अब्दुल्लाको केही समययता स्वास्थ्य अवस्था बिग्रिरहेको थियो । फोक्सोमा समस्या आएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । भान्जाको स्वास्थ्य अवस्था बुझ्न सलमान अस्पताल गइरहन्थे ।

सलमानका अलावा अभिनेत्री डेजी शाह र जरीन खानले पनि अब्दुल्लाको निधनमा शोक व्यक्त गरेका छन् । डेजीले अब्दुल्लाको तस्बिर शेयर गर्दै ‘मेरो प्रिय साथी, तिमीलाई जहिल्यै प्रेम गर्नेछु्’ भन्दै लेखेकी छन् । त्यस्तै जरीनले उर्दू भाषामा भावुक पोस्ट गरेकी छन् । यसबाहेक अभिनेता राहुल देवले पनि ट्वीटरमा सलमानको पोस्टमा कमेन्ट गर्दै अब्दुल्लाको निधनमा दुःख व्यक्त गरेका छन् ।