विक्की र कटरीनाको अनौठो प्रेम

मुम्बई(एजेन्सी) । बलिउडमा सेलिब्रेटीहरुको एकअर्काको प्रेमको चर्चा सामान्य हो । एक फिल्ममा यदि दुई कलाकार दोहोरिएका छन् भने उनीहरु प्रेममा छन् भन्ने अड्कलबाजी शुरु हुन्छ । बलिउडमा अहिले एउटा यस्तो जोडी पनि छ, जसले कहिल्यै फिल्ममा सँगै काम गरेनन् । तर पनि उनीहरु प्रेममा छन् भन्ने चर्चा बलिउडमा व्याप्त छ । अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको जोडी अहिले प्रेमसम्बन्धमा रहेको चर्चा शिखरमै पुगिसकेको छ ।

यो जोडीले हालसम्म आफूहरु प्रेममा रहेको कुरा खुलेर बोलेका छैनन् । अहिले विश्व कोरोना भाइरसको संक्रमणमा रहेको बेला यो जोडी आ–आफ्नो घरको क्वारेन्टाइनमा छन् । यही मौकामा उनीहरु सामाजिक सन्जालमा निकै व्यस्त हुन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लकडाउनको घोषणा गर्नासाथ कटरीना र विक्कीले सामाजिक सन्जालमा आफ्ना कैयौं तस्बिर तथा सन्देश पोस्ट गरेका छन् । एक पोस्टमा कटरीनाले झाडु लगाएको र भाडा धोएको भिडियो राख्दा भाइरल भएको थियो भने विक्कीले आमालाई सघाउँदै गरेको तस्बिरले पनि चर्चा पाएको थियो ।

अर्को रोचक कुरा के हो भने हालैमात्र तीन दिन यी दुई कलाकार सामाजिक सन्जालबाट गायब नै भए । दुवैले कुनै पनि कुरा पोस्ट र शेयर गरेनन् । अहिले उनीहरुको सामाजिक सन्जाल चलाउने शैली एउटै भएपछि धेरैजना आश्चर्यमा परेका छन् ।

कुरा यतिमामात्र सीमित छैन, कटरीनाले पीएम रिलिफ फन्डमा सहयोगको घोषणा गर्नासाथ विक्कील्े पनि सामाजिक सन्जालबाट सहयोग गर्ने घोषणा गरे । यी सबै कुरा मिल्नु आकस्मिक हो या यसमा कुनै सम्बन्ध छ, यो कुरा भन्न त मुस्किल नै छ । तर उनीहरुको गतिविधिलाई हेर्दा उनीहरुले प्रेम फक्राइरहेका छन् भन्ने प्रष्ट देखिन्छ ।