राहत कोषमा भोजपुरी कलाकारको सहयोग

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका विरुद्ध लड्न स्थापित प्रधानमन्त्री राहत कोषमा भोजपुरी कलाकारले सहयोग गरेका छन् । भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुआले एक फिल्मबाट आफूले लिने पारिश्रमिकको सम्पूर्ण रकम प्रधानमन्त्री कोषलाई दिने घोषणा गरेका छन् । राजनीतिक नेतासमेत रहेका निरहुआले मजदुर र फिल्म जगतका साना कर्मचारीलाई राशन उपलब्ध गराउन शुरु गरेका छन् । उनले आफ्नो आजमगढ क्षेत्रमा विभिन्न सहयोगको कामलाई जारी राखेका छन् ।

त्यस्तै अभिनेत्री आम्रपाली दुबेले बिहार, उत्तर प्रदेश र महाराष्ट्रको मुख्यमन्त्री कोषमा अढाई लाख रुपैंयाँ सहयोग गरेकी छन् । यसबाहेक उनले इन्स्टाग्राम एकाउन्टमार्फत सर्वसाधारणलाई कोरोना भाइरसको बारेमा जागरण अभियान चलाउँदै घरमै बस्न सल्लाह दिएकी छन् ।

अभिनेता तथा गोरखपुरका सांसद रवी किशनले एक महिनाको पारिश्रमिक कोषमा दान गरेका छन् । उनले आफ्नो सांसद फन्डबाट एक करोड रुपैंयाँ पनि दिने घोषणा गरेका छन् । उनले भोजपुरी फिल्मका मजदुरलाई राशन सामाग्री पनि दिइरहेका छन् ।

अभिनेत्री शुभी शर्माले बिहार, उत्तर प्रदेशका २० गाउँमा कम्पनी फेयर डिलको माध्यमबाट मास्क, सेनिटाइजर र खानेकुराको प्याकेट वितरण गरेकी छन् । उनले पैसा दिनुको सट्टा सिधै जनतालाई मास्क उपलब्ध गराएको बताएकी छन् । अर्की अभिनेत्री अक्षरा सिंहले बिहारको मुख्यमन्त्री कोषमा एक लाख राशी सहयोग गरेकी छन् । उनले गत हप्ता उक्त रकम वापतको चेक फन्डलाई दिएकी हुन् ।