मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण आम मानिसहरु अहिले घरमै बन्धक झैं बनेका छन् । यो समस्याबाट सेलिब्रेटीहरु पनि अछुतो छैनन् । घरमै बस्दै आएका सेलिब्रेटीहरुले समय काट्नका लागि अनेक किसिमका काम गरिरहेका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणले घरमै एक सिरिज बनाएकी छन् । जसको एपिसोड पनि तयार पारिएको छ । दीपिकाले घरमा ‘प्रोडक्टिविटी इन द टाइम अफ कोविड–१९’ शुरु गरेकी छन् । जसका लागि उनले घरमै काम गरिरहेकी छन् ।
उनले घरमा आफूले काम गरिरहेको तस्बिरलाई एपिसोडका रुपमा शेयर गरिरहेकी छन् । जसमा उनी खाना पकाउने, घर सफा गर्ने कामलाई एपिसोडका रुपमा देखाइरहेकी छन् । अहिलेसम्म उनले ६ वटा एपिसोड बनाइसकेकी छन् । पहिलो एपिसोडमा उनले आफ्नो पहिरनको तस्बिर शेयर गरेकी छन् । उनले घरमा नै बसेर लुगाको सरसफाई गरेको उल्लेख गरेकी छन् ।
दोस्रो एपिसोडमा दीपिकाले सेल्फ केयरको कुरा गरेकी छन् र आफ्नो फोटो शेयर गरेकी छन् । तेस्रो एपिसोडमा दीपिकाले स्वास्थ्यको कुरा गरेकी छन् । उनले फ्रुट जुस पिएको एक तस्बिर शेयर गर्दै आफूले घरमा नै जुस तयार पारेको बताएकी छन् ।
चौथो एपिसोडमा दीपिकाले शारीरिक व्यायाम गरेकी छन् । उनले ट्रेड मिलमा दौडिरहेको भिडियो राखेकी छन् । उनले जिम आउटफिटको आफ्नो तस्बिर पनि शेयर गरेकी छन् । यो एपिसोडमा उनले डेसर्ट बनाउने तरिका पनि शेयर गरेकी छन् ।
पाँचौ एपिसोड चाहिँ उनले सामाजिक सन्जालमा राखेकी छैनन् । उनले यो एपिसोडमा भाडा धोएको भिडियो राख्न खोजे पनि त्यस अघि नै अभिनेत्री कटरीना कैफले राखेको हुनाले उनले त्यो भिडियो साझा गरेकी छैनन् । छैटौं एपिसोडमा उनले किचनमा विशेष ध्यान दिएको भिडियो राखेकी छन् । उनले सामानको स्टिकर पनि शेयर गरेकी छन् ।