नोक्सान व्यहोर्दै सूर्यवंशी र ८३

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण आममानिससँगै फिल्म उद्योगले पनि ठूलो नोक्सान व्यहोरी रहनुपरेको छ । धेरै फिल्मको सुटिङ रोकिएका छन् भने कैयौं फिल्मको रिलिज मिति सारिएको छ । तर अक्षय कुमारको ‘सूर्यवंशी’ र रणवीर सिंहको ‘८३’ ले सबैभन्दा बढी नोक्सानी व्यहोर्नुपर्ने आँकलन गर्न थालिएको छ । यी दुई ठूला बजेटका फिल्मले नोक्सानी व्यहोर्नुपर्ने कारण हो– बिमा नगर्नु ।

रोहित शेट्टीको कप फ्रेन्चाइजी ‘सूर्यवंशी’ गत २४ मार्चमा रिलिज हुने तयारीमा थियो । तर कोरोना भाइरसका कारण भारतमा लकडाउन गरिएपछि फिल्मको रिलिज मिति सरेको थियो । फिल्मको रिलिज नहुनुले पनि फिल्मले घाटा व्यहोर्नुपर्ने व्यापार विश्लेषकहरुको बुझाई छ । विमा कम्पनीको नियम अनुसार जुन फिल्म रिलिज भएन वा थिएटरमा आएन, कोरोना भाइरसको कारण लकडाउनमा भएको घाटाको भरपाई हुँदैन ।

बिमा कम्पनीका अनुसार भारतमा फेब्रुअरीबाट कोरोना भाइरसको असर देखिन थालेको हो । प्रोडक्सनका समयमा फिल्म निर्मातालाई हुने घाटा भाइरसका कारण भएको होइन । फिल्मको रिलिज मिति सर्नु या सुटिङ रोकिनुलाई बिमाको दायरामा राखिँदैन । तर निर्माताले कोरोना भाइरस आउनु अघि नै फिल्मको बिमा गरेको अवस्थामा उनीहरु संकटमा नपर्ने बिमा कम्पनीहरुको बुझाई छ । बिमा कम्पनीले आफ्ना ग्राहकलाई कुनै पनि पोलिसी बेच्नासाथ त्यसले जुनसुकै महामारी पनि कभर गर्दछ । तर यसपटक भने कोरोना भाइरस आउन्जेलसम्म कसैले बिमा तिर ध्यान दिन सकेनन् ।

एलाइन्स इन्स्योरेन्सका एक ब्रोकरले बिमा नगर्दाको घाटालाई कभर गर्न नसकिए पनि क्लाइन्टसँग कुराकानी गरेर आउने समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरिने बताए । कोरोना भाइरसका कारण ‘सूर्यवंशी’ र ‘८३’सँगै ‘सन्दीप और पिंकी फरार’, ‘कूली नम्बर १’, ‘राधे–योर मोस्ट वांटेड भाई’, ‘लक्ष्मी बम्ब’, ‘मुम्बई सागा’, ‘थलावी’, ‘शेरशाह’, ‘सडक–२’, ‘शमशेरा’, ‘भूल भूलैया–२’ जस्ता फिल्म प्रभावित भएका छन् । यी फिल्महरु मार्चदेखि जून–जुलाईको बीचमा रिलिज हुने तयारीमा थिए ।