कोरोनाका कारण स्टार वार अभिनेताको निधन

लसएन्जल्स(एजेन्सी) । हलिउड अभिनेता तथा संवाद प्रशिक्षक एन्ड्रिउ ज्याकको ७६ वर्षको उमेरमा कोरोना भाइरसका कारण निधन भएको छ । ‘स्टार वार्स’ र हलिउडका ए ग्रेडका सेलिब्रेटीसँग काम गरिसकेका ज्याकको मंगलबार सुरे अस्पतालमा निधन भएको हो । ज्याकले ‘दी लास्ट जेडी’ र ‘फोर्स अवेकन्स’ फिल्ममा पनि अभिनय गरेका थिए ।

उनका एजेन्ट जिल म्याककुलोदले आकर्षक र सफा स्वरका धनी अभिनेताको निधनले आफू दुखित भएको बताएकी छन् । जिलका अनुसार उनकी श्रीमति अष्ट्रेलियाको क्वारेन्टाइनमा भएकाले श्रीमतिले अन्तिम समयमा पतिको अवस्था हेर्न पाइनन् । ज्याक रिभर थेम्समा बस्दै आएका थिए ।

‘स्टार वार’का सहअभिनेता ग्रेग ग्रुनबर्गले ज्याकको निधनको खबरले आफू विक्षिप्त बनेको बताए । उनले ज्याकलाई आकर्षक, प्रतिभावान र मायालु साथी भनी व्याख्या गरेका छन् । ‘मैले अहिलेसम्म काम गरेका मध्ये उनी अत्यनत मिलनसार थिए’ ग्रेगले भनेका छन् ।