बिना सुटिङ कामदारलाई पारिश्रमिक

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान बलिउडमा आफ्नो च्यारिटीका लागि परिचित छन् । खासगरी फिल्म उद्योगका मानिसका लागि सलमान काफी उदार छन् । कोरोना भाइरसको लकडाउनको समस्याका बेला सलमानले यस्तै एउटा उदार काम गरेका छन् । सलमानले आफ्नो फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’का सदस्यलाई बिना सुटिङ पारिश्रमिक दिएका छन् ।

समाचार अनुसार फिल्मको सुटिङको सेड्युल २६ मार्चदेखि २ अप्रिलसम्म रहेका सबै सदस्यको खातामा सलमानले पैसा राखिएका छन् । यो फिल्म यसै इदमा रिलिज हुने थियो । तर अहिलेको अवस्थाले फिल्मको रिलिज मितीले कुन मोड लिन्छ त्यो बताउन मुस्किल नै छ । भारतमा लकडाउनका कारण फिल्ममा काम गर्ने प्राविधिक ठूलो समस्यामा परेका छन् । यसअघि सलमानले दैनिक ज्याला मजदुरी गर्ने २५ हजार कामदारको खातमा पैसा पठाएको समाचार सार्वजनिक भएको थियो ।

त्यसो त बलिउडमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अन्य सेलिब्रेटीले पनि सहयोग गरेका छन् । निर्देशक रोहित शेट्टी र अभिनेता अजय देवगनले जनही ५१ लाख रुपैंयाँ दैनिक ज्यालादारीमा काम गर्नेलाई सहयोग गरिसकेका छन् ।