जुत्ताबाट सर्न सक्छ कोरोना भाइरस

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको समस्या दिनानुदिन बढ्दै गएको छ । जोकोही मानिस पनि यो संक्रमणबाट बच्ने उपाय खोजिरहेका छन् । मानिसहरु बारम्बार हात धोइरहेका छन्, मास्क लगाइरहेका छन् र सामाजिक दुरीको पालना गरिरहेका छन् । कोरोना भाइरसबाट बच्न मानिसहरु अनेक किसिमका सर्तकता अपनाइरहेका छन् ।

कोरोना भाइरस कसरी फैलिन्छ र कुन कुन स्थानमा कति समयसम्म बाँच्न सक्छ भन्ने विषयमा कैयौं रिपोर्ट बाहिर आइसकेका छन् । नेशनल इनिस्टिच्यूट अफ हेल्थ, यूएसएको एक अध्ययन अनुसार कोरोना अर्थात् कोभिड–१९ कार्डबोर्डमा २४ घण्टासम्म जिउँदो रहन सक्छ । जबकि स्टिल र प्लास्टिकमा यो भाइरस तीन दिनसम्म बाँच्छ ।

अध्ययन अनुसार यो भाइरस जुत्तामा अधिकतम पाँच दिनसम्म रहन सक्छ । धेरै जुत्ता छाला, रबर र प्लास्टिकबाट बनेका हुन्छन् । त्यसकारण यी भाइरस ती स्थानमा सजिलै बस्न सक्छन् । संक्रामक रोग विशेषत मैरी ई स्मिटका अनुसार कोठाको तापक्रममा राखिएका जुत्ता बनाउने सामाग्रीको कैयौं पटक गरिएको अध्ययन अनुसार यी भाइरस ती सामाग्रीमा पाँच वा त्यो भन्दा बढी बस्न सक्छ ।

तपाई भीडभाड हुने स्थान, बजार, अस्पताल वा अफिसमा जानुहुन्छ, ती स्थानमा जाँदा जुत्ताबाट पनि संक्रमण फैलन सम्भावना बढी हुन्छ । यदि जुत्ता लगाएर संक्रमति भएको स्थानमा या आसपासका संक्रमित व्यक्तिसँग बसेको अवस्थामा संक्रमितले हाँच्छ्यू गर्दा त्यसको छिटा तपाईंको जुत्तामा पर्ने सम्भावना धेरै हुन्छ ।

जसकारण त्यसले अन्य स्थानमा पनि संक्रमण फैलाउँछ भने तपाईंलाई पनि असर गर्छ । यसबाट बच्नका लागि घरमा छिर्नु अघि जुत्तालाई घरबाहिर राख्दा राम्रो हुन्छ । जुन जुत्ता सार्वजनिक स्थानमा लगाएर गइएको हुन्छ त्यसलाई पानी र साबुनले धुनुपर्छ । छाला वा अन्य सामाग्रीबाट बनेका जुत्ता, जुन धुन मिल्दैन त्यसमा किटनाशक औषधि छर्कनुपर्छ ।