मुम्बई(एजेन्सी) । बलिउड गायिका कनिका कपुर सामो समयदेखि कोरोना संक्रमणबाट पीडित छिन् । अब भने उनका लागि राहत दिने खबर बाहिर आएको छ । चौथो पटकसम्मको ल्याब टेस्टमा लगातार पोजेटिभ रिपोर्ट आइरहँदा तनाबमा रहेकी कनिकाको पाँचौं रिपोर्ट नेगेटिभ आएको छ ।
कनिकाको हालसम्म ६ वटा टेस्ट भइसकेको छ । एक टेस्ट उनको केजीएमयूमा भएको हो भने बाँकी पाँच टेस्ट पीजीआईमा गरिएको हो । हालै गरिएको टेस्टमा उनको शरीरमा कोरोनाको लक्षण देखिएको छैन । पुनः अर्कोपटक गर्न लागिएको टेस्टमा उनको रिपोर्ट नेगेटिभ आएमा उनलाई अस्पतालले डिस्चार्ज गर्नेछ ।
पीजीआईका निर्देशक आरके धीमनले कनिकाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । कनिकाले सामान्य खानपिन गर्न थालेकी छन् । उनको शरीरमा हाल कुनै गम्भीर किसिमको लक्षण देखिएको छैन ।
अस्पतालमै रहेकी कनिकाले आफ्नो घरलाई निकै मिस गरिरहेकी छन् । उनले केही दिन अघि ‘सुत्न गइरहेकी छु । तपाईं सबैलाई मेरो प्रेम पठाईरहेकी छु । सुरक्षित रहनुहोला । मेरो चिन्ता गर्नुभएको भएकोमा सबैप्रति आभारी छु । तर म आइसीयूमा छैन । म ठिक छु, आफ्नो बच्चा र परिवारसँग जान पर्खिरहेकी छु’भन्दै पोस्ट गरेकी थिइन् ।