कोरोनाको डरले अढाई महिने बच्चासहित निकालिइन् राधिका

भारत(एजेन्सी) । कोरोना भाइरससँग सारा विश्व जुधिरहेको छ । कोरोना संक्रमित व्यक्तिबाट जोकोही दुरी बनाईरहेको छ । यस्तो अवस्थामा आम मानिसमा हेलाको भाव बढिरहेको समाचार आइरहेका छन् । यस्तै एक मामला गुजरातमा देखिएको छ ।

गुजरातको सुरत सहरमा यस्तै घटनामा गत मंगलबार भयो । जहाँ राधिका गामित नामकी एक महिला प्रसुती बिदा लिएर व्याराबाट सुरत आएकी थिइन् । तर उनी बस्दै आएको समुदायले महिलालाई अढाई महिनाको बच्चा र उनका पतिसहित आधा रातमा घरबाट बाहिर निकाले । पेशाले शिक्षिका रहेकी राधिकाले स्थानीयसँग रोइकराई गरे पनि उनीहरुले राधिकाको कुरा सुनेनन् । समाचार अनुसार राधिकाका छिमेकीले राधिकालाई कोरोनाको आशंका गरेपछि बच्चासहित उनलाई घरबाट निकालेका थिए । राधिकाले आफूलाई कोरोना नभएको बताएपनि उनको कुरा कसैले सुनेनन् ।

राधिका ओलपाडीमार्गस्थित अमर प्यालेस अपार्टमेन्टमा राधिका केही दिन बस्नका लागि आएकी थिइन् । अर्पाटेमन्टको फ्ल्याटमा केही दिन बस्नका लागि आए पनि अपार्टमेन्टमा रहेका अन्य व्यक्तिले कोरोनाको डरले उनलाई एकरात पनि बस्न दिएनन् । आधा रातमा फ्ल्याटबाट निकालिएपछि उनले त्यो रात एक स्कुलमा बिताइन् ।

गुजरातकी राधिका सूरतको उमरामा रहेको एक सरकारी स्कुलकी शिक्षिका हुन् । उनी ६ महिने प्रसुति बिदामा थिइन् । उनी बिदाको समयमा तापी जिल्लाको व्यारास्थित घरमा थिइन् । उनका पति पनि शिक्षक हुन्, जो अर्को जिल्लामा काम गर्छन् । गत ३० मार्चमा राधिकाको बिदा सकिएपछि उनी विद्यालयमा काम शुरु गर्न पति र बच्चासहित उमरा पुगेकी थिइन् । २२ तारिखदेखि भारतमा लकडाउन भएकाले स्कुलको पढाई हुन सकेको थिएन । बच्चा भएकाले दैनिक रुपमा व्याराबाट सूरत आउन समस्या हुने भएपछि उनले ओलपाडीको अर्पाटमेन्टको फ्ल्याटमा बस्न थालेकी थिइन् ।

अपार्टमेन्टका अध्यक्ष राजु हंसमुखभाई पटेलले कोही नयाँ व्यक्तिलाई फ्ल्याटमा राख्न नसकिने जनाउँदै राधिकासहित उनको परिवारलाई फ्ल्याट खाली गर्न दबाब दिएका थिए । आफू फ्ल्याटबाट निकालिएपछि उनी प्रहरीकोमा पुगिन । प्रहरीले पटेललाई सम्झाउँदा पनि उनले मानेनन् । अन्ततः प्रहरीले नै राधिकाको सबै सामान लिएर उनलाई विद्यालयमा राख्यो ।