कोरोना कहरः अनलाइनबाट छोराको अन्तिम संस्कार

लण्डन(एजेन्सी) । ब्रिटेनमा एक आमाले आफ्नो छोराको अन्तिम संस्कार अनलाइनबाट हेरेकी छन् । कोरोना भाइरसका कारण उनको १३ वर्षीय छोराको मृत्यु भएको थियो । मृतक इस्माइल मोहम्मद अब्दुलवाबका आमा र ६ भाइ बहिनीले अन्तिम पटक मृतकको अनुहार हेर्न पाएनन् । कोरोनाका कारण परिवारका अन्य सदस्य आइसोलेशनमा रहेपछि उनीहरु अन्तिम संस्कारमा सहभागी हुन पाएनन् ।

समाचार अनुसार दक्षिण लण्डनको ब्रिक्सटनमा बस्दै आएका इस्माइलको किङ्स अस्पतालमा निधन भएको थियो । इस्लामिक चलन अनुसार पारम्परिक रुपबाट शवलाई विशेष प्रार्थनाका लागि पहिला मस्जिद लगिन्छ । तर कोरोना त्रासका कारण सबै धार्मिक स्थल बन्द भएपछि उनको प्रार्थना बिना नै अन्तिम संस्कार गरिएको हो ।

उनलाई अस्पतालबाट चिकित्सकले सिधै कब्रिस्तानमा लगेका थिए । उनको शवलाई आफन्त भन्दा दुई मिटर पर राखिएको थियो । इस्माइलकी आमा सादिया र ६ भाइबहिनी इस्माइललाई हेर्न चाहन्थे । तर प्रशासनले रोक लगाएपछि उनीहरुको चाहना अधुरो रह्यो ।

सादियाले पटक पटक आग्रह गरेपछि इस्माइलको अन्तिम संस्कार अनलाइनबाट हेर्ने व्यवस्था मिलाइएको थियो । ‘इस्माइलमा कोरोना भाइरसको कुनै लक्षण थिएन । तर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उसलाई अस्पतालमा भर्ना गर्यौं । जहाँ तीन दिनपछि उनको निधन भयो’, सादियाले भनेकी छन् ।