कोरोनाले सर्यो क्रिकेटरको विवाह

सिड्नी(एजेन्सी) । कोभिड–१९ को महामारीका कारण विश्वभरका खेल प्रतियोगिता प्रभावित त गरेको छ नै, यसले खेलाडीको व्यक्तिगत जिन्दगीलाई पनि असर गरेको छ । केही अष्ट्रेलियाली क्रिकेटरले विवाह गर्ने तयारी भइरहँदा कोरोना संक्रमण प्रकोप फैलिएपछि उनीहरुले विवाह सरेको छ ।

अष्ट्रेलियामा क्रिकेटरको विवाहका लागि अप्रिलको महिना विशेष महिना मानिन्छ । किनकी यो समयमा सबै खेलका कार्यक्रम सकिएका हुन्छन् र चिसो मौसम शुरु भइसकेको हुन्छ । कोभिड–१९ संक्रमणबाट जोगिनका लागि अष्ट्रेलिया सरकारले धेरै ठाउँ प्रतिबन्ध लगाएको छ । जसमा वैवाहिक समारोह पनि पर्दछ । विवाहमा दुलाहा र दुलहीका अलावा पादरी र दुई साक्षी अर्थात जम्मा पाँच जनामात्र उपस्थित हुन मन्जुरी दिएको छ ।

यहीकारण अष्ट्रेलियाली र त्यहाँको घरेलु टिमसँग अनुबन्ध भएका आठ खेलाडीको प्रणय सूत्रमा बाँधिने योजना हालका लागि सरेको छ । समाचार अनुसार पुरुष टिमको लेग स्पिनर एडम जम्पा र महिला टीमकी बायाँ हाते स्पिनर जेस जोनासेनका अलावा जेक्सन बर्ड, मिचेल स्वेपसन, एन्ड्रयू टाय, डी आर्सी शोर्ट, केलीन फ्रेट र एलिस्टर मेकडरमोट विवाह गर्ने सूचीमा छन् ।

यी सबै खेलाडीले हालका लागि विवाहको योजना सारेका छन् । हालै मात्र इन्गेनजेमन्ट गरेका ग्लेन मेक्सवेल र पेट कमिन्सलाई पनि विवाहको लागि समय पर्खिनु परेको छ । उनीहरुले धेरै क्रिकेट प्रतियोगिता नभएको समयमा विवाह गर्ने योजना बनाएका छन् । ‘हामी भाग्यशाली छौं कि हामीले इन्गेजमेन्ट गरेका छौं । आशा छ कि हाम्रो विवाहको समयमा यस्तो केही हुने छैन’, ग्लेनले भनेका छन्, ‘जम्पा जस्ता साथीहरुको लागि अहिले निकै पीडा छ, उनीहरुले विवाहको योजना स्थगित गरेका छन् । यो निकै मुस्किल समय हो ।’ दक्षिण अफ्रिकामा पनि लीजेली ली र ताजना क्रोन्ये जस्ता महिला क्रिकेटरको विवाहको योजना सार्नु परेको छ ।