जापानमा संकटकालको तयारी

टोकियो(एजेन्सी) । कोरोना भाइरसका कारण विश्वमा १० लाख बढी मानिसमा संक्रमण देखिसकेको छ । यसको असर जापानमा पनि बिस्तारै देखिन थालेको छ । देशमा बढ्दै गएको कोरोना भाइरसको संक्रमण संख्यालाई मध्यनजर गर्दै जापान सरकारले संकटकाल घोषणा गर्ने तयारी शुरु गरेको छ । यसै विषयमा जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

जापानी सञ्चारमाध्यमका अनुसार जापान सरकारले देशमा ६ महिनाका लागि संकटकाल लगाउने विषयमा विचार गरिरहेको छ । सरकारले ६ महिना संकटकाल लगाउँदा सबै नागरिक घरमै सुरक्षित किसिमले बस्न सक्ने भएकाले यो निर्णय लिन लागेको जापानी सञ्चारमाध्यमले जनाएको छ । जापानमा टोकियो, ओसाकालगायतका क्षेत्रमा कोरोना भाइरसको असर बढी देखिएको छ ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार जापानमा सोमबार बिहानसम्म १ हजार भन्दा बढी कोरोना संक्रमित बिरामी भेटिएका छन् । त्यहाँ ८५ जनाले ज्यान गुमाइसकेका छन् । तीनदेखि चार दिनमा संख्या अचानक बढेपछि कतै यो संख्याले महामारीको रुप लिने हो कि भन्ने विषयमा सरकार डराइरहेको छ ।  विश्वका अन्य देश हेर्दा जुन देशमा लकडाउन ढिलो गरिएको छ, त्यहाँ संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ ।