कोरोना मृतकको सामूहिक अन्त्येष्टि गर्दै अमेरिका

न्यूयोर्क(एजेन्सी) । अमेरिकाको न्यूयोर्कमा कोरोनाका कारण मृतकको संख्या बढेपछि स्थानीय अधिकारीले एक पब्लिक पार्कमा सामूहिक अन्त्येष्टि गर्ने तयारी शुरु गरेका छन् । सिटी काउन्सिल हेल्थ कमिटिका अध्यक्ष मार्क लेवाइनले अस्पताल तथा शहरमा मृतकको संख्या अझैं बढ्ने अनुमान लगाउँदै शवको व्यवस्थापनका लागि सामूहिक अन्त्येष्टि गर्न लागिएको बताए ।

उनले चीफ मेडिकल एक्जामिनर पब्लिक पार्कमा अस्थायी सामूहिक अन्त्येष्टि गर्ने विचार गरिरहेको बताए । उनले कुन पार्कमा अन्त्येष्टि गर्ने भन्ने विषयमा केही नबताए पनि त्यो पार्क ठूलो पार्क हुने खुलाए । ‘एक लाइनमा १० शवको पुरिनेछ । त्यो काम सम्मानजनक किसिमले क्रमैसँग र अस्थायीजनक हुनेछ’, लेवाइनले भने । गत हप्ता मेडिकल एक्जामिनरले शवको संख्या बढी रहेको अस्पतालबाहिर ४५ नयाँ रेफ्रिजरेटेड ट्रेलर पु¥याएका थिए । हालका दिनमा अमेरिकामा दैनिक रुपमा तीन गुणा मृतकको संख्या बढिरहेको छ ।

मेयर बिल डे ब्लासियोले हालसम्म शवको कसरी व्यवस्थापन गर्ने भन्ने कुनै योजना नबनाए पनि सामूहिक अन्त्येष्टिको सोचमा रहेको बताए । ‘यदी हामीलाई अहिलेको संकटबाट पार पाउनका लागि यो काम आवश्यक भयो भने गर्नुपर्नेछ’, उनले भने ।

अमेरिकाको रक्षा मुख्यालय पेन्टागनका अनुसार सोमबार बिहानसम्म १ हजार १ सय ३२ अमेरिकी कोरोना संक्रमित भएका छन् । जसमा नेशनल गार्डका ३ सय ३ सदस्य छन् । सबैभन्दा बढी अर्थात् ४ सय ३१ मामला नौसेनमा भेटिएको छ । जसमा एक सय ५० बढी कर्मचारी विमानवाहक पोत यूएसएस थियोडोर रूजवेल्टको चालक दल सदस्य छन् ।