तीन लाख यौनकर्मी बेरोजगार

बैंकक(एजेन्सी) । कोरोना भाइरसको कहरबाट विश्वको कैयौं उद्योग र व्यापार अछुतो छैन । थाइल्याण्डमा कोरोनाको कारण यौन उद्योग पूर्ण रुपमा ठप्प छ । कोरोना महामारीका कारण तीन लाख यौनकर्मीको व्यवसाय संकटमा परेको छ । लकडाउनका कारण थाइल्याण्डमा पर्यटकको आगमन पनि पूर्ण रुपमा बन्द छ ।

कोरोनाको संक्रमण रोक्नका लागि भन्दै स्थानीय सरकारले लकडाउन गरेपछि थाइल्याण्डको यौन उद्योग पूर्ण प्रभावित भएको छ । बैंककदेखि लिएर पटायासम्मको रेडलाइट इलाकामा सन्नाटा पाएको छ भने नाइट क्लब अँध्यारोमै डुबेका छन् । मसाज पार्लरको अवस्था पनि विकराल नै छ । बेरोजगार भएपछि नाइट क्लब, मसाज पार्लर र रेस्टुरेन्ट बारमा काम गर्ने यौनकर्मी अब थाइल्याण्डको सडकमा निस्कन थालेका छन् । उनीहरुको आगमनले कोरोना संक्रमण फैलने सम्भावना अझ बढेको अधिकारीहरुको भनाइ छ ।

कामको खोजीमा सडकमा निस्किएका उनीहरु स्वयं पनि आफूहरुको काम जोखिमयुक्त भएको थाहा पाए पनि उनीहरु डराई डराई सडकमा हिँडिरहेका छन् । अधिकांश यौनकर्मी बार, पार्लर, रेस्टुरेन्ट र होटलका माध्यमबाट आफ्नो सेवा दिन्छन् । तर अचानक लकडाउन भएपछि उनीहरु बेरोजगार भएका छन् । लकडाउनका कारण स्थानीय ग्राहक पनि आउन छोडेपछि यौनकर्मी झन संकटमा परेका छन् । थाइल्याण्डमा गत शुक्रबार राती १० बजदेखि बिहान ४ बजेसम्म कफ्र्यू लगाइएको छ ।

आगामी ३ महिनासम्म बेरोजगारलाई प्रतिमहिना १ सय ५० डलर दिने सरकारी योजना बनाइए पनि यो योजनामा यौनकर्मी पर्दैनन् । किनकी स्थानीय सरकारले यौन उद्योगलाई औपचारिक रुपमा रोजगारको माध्यमका रुपमा स्वीकार्दैन ।