मिस इंग्ल्याण्ड त्यागेर कोरोना पीडितको सेवा

मुम्बई(एजेन्सी) । पुरा विश्व यतिबेला कोरोना भाइरसको संकटसँग जुधिरहेका छन् । जोकोही पनि कोरोना पीडितको सहयोगको लागि अगाडि आइरहेका छन् । बलिउड स्टारले पनि आफ्नै आफ्नै किसिमले सहयोगको अभियान चलाइरहेका छन् । यसैबीच सन् २०१९ की ‘मिस इंग्ल्याण्ड’ बनेकी भारतीय मूलकी भाषा मुखर्जीले उपाधिलाई त्याग्दै कोरोना पीडितको उपचारमा खटिने घोषणा गरेकी छन् ।

उनले ‘मिस इंग्ल्याण्ड’को उपाधि छोडेर कोरोना भाइरससँग जुधिरहेका मानिसहरुको उपचारका लागि चिकित्सकको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने निर्णय लिएकी हुन् । पेशाले नर्स रहेकी भाषाले अहिलेको जटिल परिस्थितिमा यो निर्णय लिनुपरेको बताएकी छन् ।

समाचार अनुसार भाषासँग दुई मेडिकल डिग्री छन् । एक डिग्री मेडिकल साइन्सको हो भने अर्को मेडिसिन एण्ड सर्जरीको हा । भाषाको आइक्यू लेभल १४६ छ । भाषा ५ अलग अलग भाषा बोल्न सक्छिन् । भारतमा जन्मिएकी भाषा बाल्यकालदेखि नै परिवारका साथ ब्रिटेनमा बस्दै आएकी छन् ।