सलमानकै पथमा आमिर खान

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका विरुद्ध लड्नका लागि बलिउडका कलाकारले सरकार र संस्थालाई मद्धत गरिरहेका छन् । कैयौं सेलिब्रेटीले प्रधानमन्त्री केयर्स फण्डमा आर्थिक योगदान गर्नुका साथै फिल्ममा कार्यरत मजदुरलाई पनि सहयोग गर्दै आएका छन् । यो सूचीमा शाहरुख खान, सलमान खान, रोहित शेट्टी, अजय देवगन, अर्जुन कपूर, जाह्नवी कपूरजस्ता कलाकार सामेल छन् । अधिकांश सेलिब्रेटीहरुले सामाजिक सन्जालमार्फत आफ्नो दान र योगदानको जानकारी दिइरहेका छन् ।

यी स्टारहरुले आफ्नो योगदान दिइरहँदा अर्का अभिनेता आमिर खान भने चुपचाप नै थिए । उनले कसैलाई सहयोग नगरेको देख्दा धेरैले आलोचना पनि गरेका थिए । तर अब त्यो आलोचना लामो समय रहेन । आमिरले लकडाउनको समयमा पहिला नै पीएम केयर्स फण्ड, महाराष्ट्र मुख्यमन्त्री राहत कोष, फिल्म वर्कर्स एसोसिएशन र केही एनजिओलाई सहयोग गरिसकेको खुलेको छ । आमिरको निकट स्रोतका अनुसार उनले आफ्नो निर्माणाधिक फिल्म ‘लाल सिंह चड्डा’मा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको सहयोगका लागि उनले आर्थिक सहयोग गरेका छन् । उनले सुटिङ नभएको समयमा मजदुरको घरमा आर्थिक समस्या नहोस् भन्नका लागि उनले सहयोग गरेका हुन् । उनले कति सहयोग गरे भन्ने चाहिँ खुलाएका छैनन् ।

त्यसो त आमिर पहिले देखि नै बिना प्रचारप्रसार सामाजिक काममा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन् । पानी फाउन्डेसनका माध्यमबाट आमिरले धेरै पहिला महाराष्ट्रमा जल संरक्षणका लागि काम गरिरहेका छन् । सन् २०१३ मा आमिरले आफ्नो शोमा आर्थिक रुपले कमजोर परिवारलाई पाँच करोड रुपैंयाँ दिएका थिए । यसका अलावा समय समयमा आमिर बाढी पीडित बिहार, महाराष्ट्र, उत्तराखण्ड र असम राज्यका मानिसलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

हालसम्मको योजना अनुसार आमिरको ‘लाल सिंह चड्डा’ यो वर्षको डिसेम्बरमा रिलिज हुँदैछ । अद्वैत चंदनले निर्देशन गरेको फिल्ममा करीना कपूर खानको पनि अभिनय छ । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक हो ।