कोरोना राहत कोषमा एलबमको मुनाफा

लसएन्जल्स(एजेन्सी) । हलिउड गायिका सेलिना गोमेज चाँडै नै एल्बम ‘रेयर’को एक नयाँ डिलक्स संस्करण श्रोतामाझ ल्याउँदैछिन् । उनले यो एल्बमको मुनाफाको एक हिस्सा कोभिड १९को राहत कोषमा जम्मा गर्ने निर्णय लिएकी छन् । २७ वर्षीया गायिकाले इन्स्टाग्राममा एलबमको नयाँ संस्करण अप्रिल ९ बाट उपलब्ध हुने जानकारी दिएकी छन् । यसमा ‘ब्वाइफ्रेन्ड’ र ‘सोवेनियर’सहित अर्को नयाँ गीत छ ।

उनले कोभिड १९ राहत कोषमा आफैंले सहयोग गर्ने र प्लस वन कोभिड १९ राहत कोषमा डीलक्स संस्करणको हरेक विक्रीवापतको एक डलर दान गर्ने बताएकी छन् । उनले इन्स्टाग्राममा आफ्नो एक तस्वीर पनि राखेकी छन् । जसमा उनको गर्दनमा ‘रेयर’को ट्याटु देख्न सकिन्छ । ‘तपाई यसलाई अहिले नै प्रिसेभ गर्न सक्नुहुन्छ र मेरो बायोमा गएर प्लस वन कोभिड १९ फण्डमा डोनेट गर्न सक्नुहुन्छ’, उनले भनेकी छन् ।