रामायणका सुग्रीबको निधन

मुम्बई(एजेन्सी) । टेलिभिजनमा टीआरपीको एउटा नयाँ इतिहास रच्ने टेलिफिल्ममा ‘रामायण’ पर्दछ । यो टेलिफिल्मका प्रमुख कलाकारहरु अहिले पनि दर्शकको दिमागमा बसिरहेका छन् । यसमा सुग्रिबको भूमिका निर्वाह गर्ने कलाकार श्याम सुन्दरलाई सायदै त धेरै दर्शकले बिर्सिएका पनि छैनन् । उनै श्याम सुन्दरको लकडाउनको बेला निधन भएको छ ।

रामायणमा रामको भूमिका निभाएका अरुण गोविलले ट्वीट गर्दै उनको आत्माको शान्तिको कामना गरेका छन् । ‘श्याम सुन्दरजीको निधनको खबर सुन्दा दुःख लागेको छ । उनले रामानन्द सागरको रामायणमा सुग्रीबको अहम भूमिका निभाएका थिए । उनी एक राम्रो र सज्जन व्यक्ति थिए । उनको आत्माले शान्ति पाओस्’, उनले ट्वीट गरेका छन् ।

त्यस्तै लक्ष्मणको भूमिका निर्वाह गर्ने सुनील लहरीले एक पत्रिकाको समाचारको कटिङ शेयर गर्दै ‘हाम्रो सहकलाकार जसले रामायणमा बाली र सुग्रीवको भूमिका निर्वाह गरेका थिए । उनको अचानक भएको निधनको खबर सुनेर दुःख लागेको छ’ भन्दै ट्वीट गरेका छन् । पत्रिकाको समाचार अनुसार श्याम सुन्दर पिन्जौरको लालका हाउसिङ बोर्डको कोलोनीमा बस्दै आएका थिए । उनी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका थिए ।