चीनमा कुकुर र बिरालोको मासु खान रोक

बेइजिङ(एजेन्सी) । कोरोना भाइरस संक्रमणको सम्बन्ध जंगली जनावरसँग देखिएपछि चीनले एउटा नयाँ कदम चालेको छ । चीनले जंगली जनावरको व्यापारमाथि प्रतिबन्ध लगाउँदै कुकुर र बिरालोको मासु खान रोक लगाएको छ । चीनले यो कदम शेनजेन सहरबाट शुरु गरेको छ ।

मानव सभ्यताको विकाससँगै कुकुर र बिरालो घरमा पाल्ने परम्परा बढ्दै गएको छ । जसकारण यी जनावरलाई पाल्ने व्यक्तिहरुमा भाइरसको सम्पर्क बढी हुने खतरा देखिएको छ । कोरोना भाइरस जनावरबाट मानिसमा आएको र यसले विश्वलाई नै त्रसित बनाएकोले चीन सरकारले यो निर्णय लिएको हो ।

चीनको बुहानबाट कोरोना संक्रमण शुरु हुँदा धेरैले मासु बजारबाट शुरुवात भएको हो कि भन्ने अनुमान लगाएका थिए । चीनमा सरकारले भालुको पित्तको प्रयोगमा अनुमति दिएको छ । भालुको पित्तमा रहेको एसिडले पथरी र कलेजो सम्बन्धी बिरामीको उपचार गर्ने भएकाले यसलाई अनुमति दिइएको हो ।

समाचार अनुसार कुकुर र बिरालो घरपालुवा जनावरका रुपमा मानिससँग बढी नजिक छन् । हङकङ र ताइवानसँगै विकसित देशमा घरपालुवा जनावरको मासु खान प्रतिबन्ध लगाउने क्रम बढेको छ । एक अन्तर्राष्ट्रिय संस्थाका अनुसार एसियाका देशमा हरेक वर्ष ३ करोड कुकुर मासुका लागि मारिन्छन् । चीनमा बिरालोको मासु खानु सामान्य कुरा होइन ।