अनलाइन शो चलाउँदै कपिल

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण भारतभर गरिएको लकडाउनले छोटो पर्दादेखि लिएर ठूलो पर्दासम्म सबैको छायांकन रोकिएको छ । यही कारण टेलिभिजन च्यानलले पुराना शोलाई प्रसारण गरिरहेका छन् । भारतीय टेलिभिजनको लोकप्रिय कमेडी शो ‘द कपिल शर्मा शो’को फ्यान फलोइङ र लोकप्रियतालाई मध्यनजर गर्दै यसका निर्माताले लकडाउन अवधिभर शोलाई अनलाइन शो बनाउने निर्णय लिएका छन् ।

कपिलले चाँडै नै दर्शक बिना नै शो सञ्चालन गर्दैछन् । हलिउडका लोकप्रिय टक शो होस्ट अफ अमेरिकालाई जिमी फोलन, जिमी किमेल र एलेन डिजेनर्सले ‘नो अडियन्स’ शैलीमा चलाएकोले त्यसकै सिको गर्दै कपिलको शोलाई पनि चलाइने निर्माण पक्षले जनाएको छ ।

यी शोहरु घरमै रेकर्ड गरिएकोले कपिलले पनि यस्तै शैली अपनाउने निर्माण पक्षको दाबी छ । यो समयमा कपिल श्रीमति गिन्नी चतरथ र चार महिने छोरी अनायरा शर्माका साथ लकडाउनको आनन्द लिइरहेका छन् ।