ट्रम्पलाई एक महिनामा एक अर्ब डलर नोक्सान

न्यूयोर्क(एजेन्सी) । कोरोनाको महामारीले कैयौं देश लकडाउनमा रहँदा त्यसले विश्वका धनी व्यक्तिलाई पनि निकै नोक्सान पु¥याएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति पछिल्लो एक महिनामा १ अर्ब डलर घटेको छ । फोब्र्सद्वारा जारी बिलेनियर २०२० को सूचीका अनुसार ट्रम्प २ दशमलब १ अर्ब डलरको नेटवर्थका साउन विश्वकै सयौं धनी व्यक्ति हुन् ।

राष्ट्रपति ट्रम्प एक ठूलो रियल स्टेट कारोबारी हुन् । उनको कारोबार अमेरिकादेखि भारतसम्म फैलिएको छ । फोब्र्सका अनुसार यो वर्ष १ मार्चदेखि १८ मार्च २०२०का बीच उनको कम्पनीहरु बोस्टन प्रोपर्टिज र बोर्नाडो रियलिटी ट्रस्टको शेयरमा करिब ३७ प्रतिशत गिरावट आएको छ । यो सबै गिरावट कोरोना प्रकोपका कारण हो । उनको हस्पिटालिटी, अपार्टमेन्ट र गल्फ कारोबारमा पनि नोक्सानी पुगेको छ ।

एक महिना अघि ७३ वर्षे ट्रम्पको कुल नेटवर्थ ३ दशमलब १ अर्ब डलर थियो । सन् २०१७ जनवरीमा अमेरिकी राष्ट्रपति चुनिएका उनी इतिहासकै पहिलो अर्बपति राष्ट्रपति हुन् । न्यूर्योकको म्यानहटन इलाकामा उनको आधा दर्जन भवन छन् । यसबाहेक उनीसँगै कैयौं गल्फ कोर्स र वाइन उद्योग छन् ।