काठमाडौं । कोरोना महामारीको डरले मुलुक लकडाउन भएको समयमा नेपालयको ‘महिला श्रृंखला २०२०’ अन्तरगत मार्च महिनामा सार्वजनिक हुने दुईवटा पुस्तकहरूको बिमोचन प्रभावित भएको छ । दुई पुस्तकहरू ‘नेपालय महिला श्रृंखला २०२०’ अन्तरगतकै पुस्तकहरू हुन, जसमा नेपाली महिला लेखकहरूको शैलीगत विशेषता र कथाभिव्यक्तिको विविधता समेट्ने प्रयत्न गरिएको छ । यो शृंखलाको पहिलो पुस्तक दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पहिले नै विमोचन भइसकेको छ ।
दोस्रो पुस्तक भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ हो । एकालाप शैलीमा बाधिएको यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ । जसले छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छेस समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने प्रयत्न गर्नु पर्छ भन्नेतर्फ संकेत गर्छ ।
सन् १९७० ताकाको नामी साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो । ढुंगानाले विश्वभारती महाविद्यालय (जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ) बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभूवन विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा संग्रहहरू प्रकाशित छन् । ढुंगाना विपि कोइराला साहित्यिक सम्मान लगायत विभिन्न पुरस्कारबाट अलंकृत भइसकेकी छिन् ।
तेस्रो पुस्तक डा. सुधा शर्माको ‘सिंहदरवारको घुम्ने मेच’ रहेको छ । यस पुस्तकले २००६ को आन्दोलनपछिको समयमा सरकारी सेवामा कार्यरत एउटी महिला सचिवको साहसिक कार्यसम्पादन र चुनौतिहरूको कथा बोकेको छ । तत्कालिन परिवर्तनले नेपाली समाजमा महिलाको समानुपातिक प्रतिनिधित्वको मुद्दालाइ स्थापित गरेको थियो । डा. शर्मा योग्यताले प्रसुति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले अक्टुबर २००८ देखि डिसेम्बर २०११ सम्म स्वास्थ तथा जनसंख्या मन्त्रालयमा सचिवको रुपमा कार्यसम्पादन गरिन् । दुबै पुस्तकहरू वर्तमान बन्दाबन्दीको अन्त्यपछि सार्वजनिक गरिने नेपालयले जनाएको छ ।