धुम्रपानको अम्मलीमा कोरोना संक्रमणको खतरा

वासिङ्टन(एजेन्सी) । तपाईं धुम्रपानको अम्मली हुनुहुन्छ भने यो समयमा सचेत रहनु होला । एक अध्ययनले धुम्रपानका अम्मलीमा कोरोना संक्रमण फैलने सम्भावना छिटो रहेको जनाएको छ । अध्ययन अनुसार क्रोनिक अब्सट्रक्टिव पल्मोनरी डिजीज (सीओपीडी) सँग जुधिरहेका मानिस धुम्रपानका अम्मली छन् भने ती व्यक्तिमा कोरोना भाइरसको उच्च खतरा रहन्छ । सीओपीडीका रोगीमा एक एन्जाइमको उच्च स्तर हुन्छ । जसकारण उनीहरुको फोक्सोमा कोरोना भाइरस प्रवेश गर्ने सम्भावना अत्याधिक रहन्छ ।

समाचार अनुसार एन्जियोटेन्सिन कन्वर्टिग एन्जाइम २ (एसीई–२) फोक्सोको कोशिकाको सतहमा हुन्छ । यसले कोरोनाका लागि प्रवेशस्थलका रुपमा काम गर्छ । भाइरस कोशिाकामा प्रवेश गरेपछि संक्रमणको सम्भावना बढी रहन्छ ।

क्यानाडाका ब्रिटिस कोलम्बिया युनिभर्सिटीका शोधकर्ता डा. जोनिस लेउंगले चीनको तथ्यांकले पनि सीओपीडी रोगीमा कोभिड १९ को उच्च खतरा रहेको बताए । अनुसन्धानकर्ताले यो निश्कर्ष २१ सीओपीडी रोगी र यति नै संख्यामा सामान्य मानिसमा गरेको अध्ययनका आधारमा निकालेको हो ।