रोबोटलाई विश्वविद्यालयको डिग्री !

टोकियो(एजेन्सी) । जापानमा कोरोना भाइरसको महामारीका कारण स्प्रिङ ग्रेजुएसन कार्यक्रम रद्द गरिएको छ । तर विद्यार्थी जीवनमा यो क्षण निकै महत्वपूर्ण मानिन्छ । यसको महत्व बुझेको टोकियो बिजनेस ब्रेकथ्रु युनिभर्सिटीले हाइटेक तरिका अपनाएको छ । यहाँ रोबोटलाई विद्यार्थी बनाएर डिग्री प्रदान गरिएको छ ।

रोबोट ग्रेजुएसन क्याप र गाउन लगाएर कार्यक्रममा सहभागी भएको थियो । यी रोबोटलाई ग्रेजुएसनमा सहभागी हुनुपर्ने विद्यार्थीले घरमा नै बसेर नियन्त्रण गरिरहेका थिए । रोबोटको अनुहारमा ट्याब राखिएको थियो जसको स्क्रिनमा विद्यार्थी देखिएका थिए ।

जापानमा हालसम्म ६ हजार ७ सय ४८ व्यक्तिमा कोरोना संक्रमण देखिइसकेको छ भने १ सय ८ जनाको निधन भइसकेको छ । देशका कैयौं स्थानमा आपतकाल घोषणा गरिएको छ, तर लकडाउन छैन । मानिसहरु सार्वजनिक यातायातमा नै यात्रा गरिरहेका छन् ।