स्टेडियममा दर्शकको स्थानमा पुतला

मिन्स्क(एजेन्सी) । कोरोना भाइरसका कारण विश्वभरी नै सामाजिक दुरी पालना गरिएको छ । तर यूरोपीय देश बेलारुसमा अहिले पनि व्यावसायिक खेलकुदका कार्यक्रमहरु आयोजना भइरहेका छन् । खेलकुद गतिविधि भइरहे पनि विस्तारै विस्तारै दर्शकहरु खेल्न हेर्न आउन छोडिसकेका छन् ।

यस्तो अवस्थामा बेलारुसमा लिग च्याम्पियन डायनमो ब्रेस्टले दर्शकको उपस्थिति अनुभूति दिलाउन अनौठो शैली अपनाएको छ । यहाँ दर्शक बस्ने कुर्सीमा वास्तविक दर्शकको स्थानमा पुतला राखिएका छन् ।

यस्तै एक प्रतियोगितामा करिब ३० वटा पुतला राखिएका थिए । पुतलाको शीरमा मानिसको फोटो राखिएको थियो । अनलाइन मार्फत टिकट लिने दर्शकको फोटो ती पुतलाको टाउकोमा राखिएको थियो । पुतलामा पुरानो जर्सी लगाइएको थियो ।

डायनमोका महासचिव व्लादिमीर मचूलस्कीले पुतली राख्नुको कारण अनौठो तरिकाले खुलाए । ‘यस्तो काम गर्दा यो म्याचलाई टेलिभिजनबाट हेर्ने दर्शकले आफूलाई स्टेडियममा देख्नेछन् । हामीले पुतला लगाएर सिट भराउन खोजेका हैनौं । यस्तो अवस्थामा केही रचनात्मक कार्य गर्न खोजेका हौं’, उनले भनेका छन् । बेलारुसका राष्ट्रपति अलग्जेन्डर लूकाशेन्कोले कोरोना कारण कार्यथलो वा सार्वजनिक कार्यक्रम बन्द गर्नु गैर जरुरी बताएका छन् ।