बलिउडमा कसको पढाई कति ?

मुम्बई(एजेन्सी) । बलिउड कलाकारहरु अभिनयसँगै पढाईको मामलामा पनि उत्कृष्ट छन् । सबैभन्दा शिक्षित कलाकारमा अभिनेता अमिताभ बच्चनदेखि अभिनेत्री सारा अली खानसम्म छन् । अभिनेता अमिताभलाई बलिउडमा अभिनयको पितामह मानिन्छ । अभिनय भन्दा अघि पढाईमा उनलाई खासै रुची थिएन । पढाईमा खासै रुची नरहे पनि उनी सहपाठीमाझ अब्बल थिए । उनले नैनीतालको शेरवुड कलेजबाट ग्र्याजुएसन र दिल्लीको किरोडीमल कलेजबाट आर्ट तथा साइन्समा डिग्री हासिल गरेका थिए । अमिताभलाई अष्ट्रेलियाको क्वीन्सलेण्ड युनिभर्सिटीले डक्टरेटको मानार्थ डिग्री प्रदान गरिसकेको छ ।

अभिनेता शाहरुख खान शिक्षाको मामलामा अब्बल दर्जाका पढालु कलाकार हुन् । शाहरुख स्कुलदेखि लिएर कलेजसम्म आफ्नो पढाईका कारण कैयौं पुरस्कारबाट पुरस्कृत पनि भइसकेका छन् । दिल्लीको सेट कोलम्बियाबाट शिक्षा शुरु गरेका शाहरुखले हंसराज कलेजबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका हुन् । उनले जामिया मिलिया युनिभर्सिटीबाट आम सञ्चारको पढाई पनि गरेका छन् ।

बलिउडका चार्मिङ कलाकार जोन अब्राहम शुरुवाती समयदेखि नै पढाईमा अब्बल विद्यार्थी हुन् । उनले मुम्बईको बम्बे स्कटिस स्कुलबाट शिक्षाको शुभारम्भ गरेका हुन् । यसपछि उनी व्यवस्थापन पढाईका लागि नर्सी मान्जी कलेज पुगे र त्यहाँबाट एमबीएको डिग्री हासिल गरे । जोनमा पढाईको भूत यती सवार थियो कि उनले एमबीए पछि जय हिन्द कलेजबाट अर्थशास्त्रमा पनि पढाई पुरा गरे ।

अभिनेत्री विद्या वालन अभिनयसँगै पढाईमा पनि खप्पिस छिन् । १६ वर्षको उमेरमै अभिनयको दुनियाँमा प्रवेश गरेकी विद्याले कामसँगै पढाई पनि पुरा गरेकी छन् । उनी बलिउडकी सबैभन्दा बढी पढेकी अभिनेत्रीमध्ये एक हुन् । उनले सेन्ट जेभियर्स कलेजबाट समाजशास्त्रमा ग्र्याजुएसन गरेकी हुन् र मुम्बई विश्वविद्यालयबाट मास्टर डिग्री हासिल गरेकी हुन् ।

बलिउडका नबाब सैफ अली खानकी छोरी सारा अली खान नयाँ अभिनेत्रीहरुमा सबैभन्दा शिक्षित अभिनेत्री मानिन्छिन् । मुम्बईको बेसन्ट मन्टेश्वरी स्कूलबाट शुरुवाती शिक्षा हासिल गरेकी साराले न्यूयोर्कको कोलम्बिया यूनिभर्सिटीबाट इतिहास र राजनीतिक शास्त्रमा ग्रेजुएट गरेकी छिन् ।