सहर यात्रामा जंगली जनावर

नयाँदिल्ली(एजेन्सी) । कोरोना भाइरसबाट बच्नका लागि विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । यो समयमा सडकमा यातायातका साधन पूर्ण रुपमा बन्द छन् । मानिसहरु आफ्नो घरमा कैद छन्, कसैलाई बाहिर निस्कन अनुमति पनि दिइएको छैन ।  सडकमा अत्यावश्यक सामाग्री बोक्ने सवारीसाधन र मानिसहरु मात्र निस्किरहेका छन् । जुन सडकमा २४ घण्टा सवारी साधन कुद्थे, लकडाउन पछि त्यहाँ एकदुईवटा मात्र गाडी कुदिरहेका छन् । लडकाउनका कारण खाली भएका सडक जंगली जनावरका लागि घुम्ने माध्यम बनेको छ । जंगली जनावरहरु कहिले नदेखिने सहरी इलाकामा पनि प्रवेश गर्न थालेका छन् । विश्वका विभिन्न देशमा सडकमा निस्किएका जंगली जनावरको भिडियो यतिबेला सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

लकडाउनको समयमा भारतको उत्तरप्रदेशस्थित नोएडाको जीआइपी मल बाहिर एक नीलगाई घुमिरहेको भिडियो सार्वजनिक भएको छ । आफ्नो इलाकामा नीलगाई आएको देखेपछि आसपासका मानिसहरुले भिडियो खिचेर सामाजिक सन्जालमा राखेका थिए । नोएडामा केही दशकअघिसम्म घना जंगल थियो । विकास प्राधिकरणले त्यहाँको जमिनलाई अधिग्रहण गरेर कोलोनी बनाउन थालेपछि त्यहाँको केही भाग जंगल मासिएको थियो । नोएडामा अहिले पनि एउटा ठूलो हिस्साको जंगल छ । जहाँ नीलगाईलगायतका जंगली जनावर आश्रित छन् ।

भारतको केरलामा कोझीकोडको सुनसान सडकमा एक जंगली बिरालो घुमेको भिडियो पनि सामाजिक सन्जालमा भाइरल भइरहेको छ । सडकमा एक्कासी जंगली बिरालो आएको देख्दा सबै तर्सिएका थिए । त्यस्तै देहरादुनको सडकमा एक हात्ती घुम्दै निस्किएको थियो । यसको एक भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो । भिडियोका अनुसार हात्ती बिहानको समयमा सडकमा देखिएको थियो । कतिपयले भिडियो हेरेर हात्ती मर्निङ वाक गर्न निस्किएकोसम्म लेखेका थिए ।

हात्ती हिँडेको भिडियोलाई भारतीय वन सेवाका कर्मचारी परवीन कासवानले ट्वीटरमा सार्वजनिक गरेका थिए । भिडियोमा हात्ती बेपरवाह सडकमा हिडिरहेको छ । त्यहाँ एक दुधवाला मोटरसाइकलमा देखिन्छन्, जो अचानक आएको हात्ती देखेर रोकिन्छन् । अगाडि आएको हात्ती देखेर उनी डराउँछन् र मोटरसाइकललाई बाटोमा नै छोडेर उनी भाग्छन् । त्यो समयमा हात्ती ती व्यक्तिलाई देखेर एकछिन रोकिन्छ र केही बेरमा हिँड्छ । त्यस्तै अर्को भिडियोमा रातीको समयमा आवादीवाला सहरमा एक हिँड्दै गरेको एक जंगली जनावर देखिएको छ । एक कार यात्रामा निस्किएका दुई व्यक्तिले त्यो जनावरको भिडियो खिचेर सामाजिक सन्जालमा राखेका छन् ।