टोकियो(एजेन्सी) । जापानमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिइरहेको छ । हालसम्म यहाँ ८ हजार १ सय संक्रमित भइसकेका छन् भने १ सय ४७ को मृत्यु भइसकेको छ । जापानमा पीपीई, मास्क, पन्जा र सेनिटाइजरको पनि कमी हुँदै गएको छ । यहाँसम्मकी अस्पतालमा पनि सेनिटाइजर सकिएको छ । अब जापानको सरकारले आकस्मिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा सेनिटाइजरको सट्टा मदिराको प्रयोग गर्ने अनुमति दिएको छ ।
सरकारले कोरोनाको उपचार गरिरहेका मेडिकल स्टाफलाई सेनिटाइजर सकिएको अवस्थामा सबै किसिमका मदिराको प्रयोग गर्न अनुमति दिएको हो । ती मदिरामा अल्कोहलको मात्रा ७० देखि ८३ प्रतिशतसम्म हुन्छ । चिकित्सकका अनुसार ७० प्रतिशत भन्दा माथि अल्कोहल भएको मदिरा सेनिटाइजर गर्न उपयुक्र्त हुन्छ ।
जापानमा केही भोड्का यस्ता केही ब्राण्ड छन् जसमा ७० प्रतिशत अल्कोहल मिसाइएको हुन्छ । जापानमा भेटिएका अधिकांश मदिरामा अधिकतम २२ देखि ४५ प्रतिशतसम्म अल्कोहलको मात्रा हुन्छ ।
जापानका सञ्चारमाध्यमका अनुसार सेनिटाइजरको कमी पछि केही मदिरा कम्पनीले अस्पतालमा सेनिटाइजरकै रुपमा काम गर्न सक्ने खालको मदिरा उत्पादन गर्न थालेका छन् । केही जापानी कम्पनीले अमेरिकामा सेनिटाइजरको निर्यात गरिरहेका छन् । यदि जापानमा सेनिटाइजरको अभाव भयो भने अमेरिका निर्यातलाई रोक्ने नीति सरकारले लिएको छ ।