आइपीएल अनिश्चितकालका लागि स्थगित

मुम्बई(एजेन्सी) । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणको कारण इण्डियन प्रिमियर लिग(आइपीएल)को १३ औं संस्करण अनिश्चितकालका लागि स्थगित गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनलाई मे ३ सम्म बढाउने घोषणा गरेको एकदिनपछि आइपीएलका प्रमुखले सबै फ्रेन्चाइज मालिकसँग कुराकानी गर्दै हालको अवस्थामा प्रतियोगिता आयोजना गर्न नसकिने जानकारी दिएका थिए ।

बीसीसीआईले बिहीबार एक विज्ञप्ती जारी गर्दै देशका साथै यो प्रतियोगितामा सहभागी हुने जोकोहीको पनि स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै हालका लागि प्रतियोगिता स्थगित गरेको जनाएको छ । बीसीसीआईले सुरक्षित किसिमले प्रतियोगिता आयोजना नहुन्जेलसम्म रोकिने जनाएको छ ।

‘हामी दैनिक रुपमा देशको अवस्था हेरिरहेका छौं र त्यसको समिक्षा पनि गरिरहेका छौं । कहिलेसम्म आइपिएलको आयोजना गर्न सकिन्छ भनेर हेरिरहेका छौं । यसका लागि हामीले केन्द्र सरकार, राज्य सरकार र राज्यका दोस्रो नियामक निकायसँग पनि सरसल्लाह गरिरहनेछौं’, बीसीसीआईले भनेको छ ।

सन् २००८ बाट शुरु भएको आइपिएल केही कारणले रोकिएको सम्भवत यो पहिलोपटक हो । हालसम्म आइपीएलको सबै १२ संस्करण मार्चदेखि मे महिनाको बीचमा हुने गरेको थियो । यो वर्ष आइपीएल २९ मार्चदेखि २४ मेसम्म आयोजना हुन लागेको थियो । कोरोना भाइरस संक्रमणको मामला बढेपछि बीसीसीआईले १३ मार्चको आइपीएललाई १५ अप्रिलसम्म स्थगित गरेको थियो ।