जसले व्यापारीसँग लगनगाँठो कसे

मुम्बई(एजेन्सी) । बलिउडमा आफ्नो अभिनयका कारण चर्चामा आएका कैयौं अभिनेत्रीहरुले वास्तविक जीवनमा धनी पुरुषसँग विवाह गरेका छन् । जबकी पर्दामा उनीहरुलाई दर्शकले पुरुष सहपाठीको जोडी खुबै रुचाएका थिए । अधिकांश अभिनेत्रीहरुले आफ्नो जीवनसाथी व्यापारी र व्यावसायीलाई रोजेका छन् ।

कुनै समय अक्षय कुमार र सुनील सेठ्ठीसँग जोडी बनेर कैयौं सुपरहिट फिल्म दिएकी अभिनेत्री शिल्पा सेठ्ठीले रील लाइफमा धेरै अभिनेतालाई आफ्नो पति बनाइन् । तर रियल लाइफमा भने उनले एक व्यापारीलाई आफ्नो पति रोजिन् । शिल्पाले सन् २००९ मा व्यापारी राज कुन्द्रासँग विवाह गरिन् । हाल उनीहरुको दुई सन्तान छन् ।
अर्की अभिनेत्री विद्या बालनले पनि एक व्यापारीलाई नै पति रोजिन । उनले पनि आफ्नो पेशासँग जोडिएका कैयौं पुरुष अभिनेतालाई रील लाइफमा पति बनाइन् । उनले निर्माता तथा व्यापारी सिद्धार्थ रोय कपुरसँग सन् २०१२ मा विवाह गरिन् ।

सुन्दर अभिनेत्री रवीना टण्डनले फिल्मको व्यापार गर्ने व्यक्तिसँग नै विवाह गरिन् । रवीना र उनका पति अनिल थडानीले कैयौं वर्षसम्म डेट गरेपछि सन् २००४ मा विवाह गरे । अनिल बलिउडका स्थापित निर्माता हुन् । त्यस्तै फिल्म ‘वान्टेड’मा सलमान खानको अपोजिटमा काम गर्ने सुन्दर अभिनेत्री आयशा टाकियाले लामो समयको अफेयरपछि सन् २००९ मा व्यापारी फरहान आजमीसँग विवाह गरिन् । फरहानका पिता अबु आजमी महाराष्ट्रका ठूला राजनीतिज्ञ हुन् ।

फिल्म ‘गजनी’मा आमिर खानसँग डेब्यू अभिनय गरेकी आसिनले पनि व्यापारी राहुल शर्मासँग लगनगाँठो कसिन् । त्यस्तै अभिनेत्री दिया मिर्जाले व्यापारी साहिल सांगा, जुही चावलाले बिजनेस टाइकुन जय मेहता, इशा देओलले व्यापारी भरत तख्तानीसँग विवाह गरेका छन् ।