उत्तर कोरियाका नेता किम अस्वस्थ

सियोल(एजेन्सी) । उत्तर कोरियामा यसै साता भएको एक प्रमुख सार्वजनिक समारोहमा त्यहाँका सर्वोच्च नेता किम जोङ उन सहभागी भएनन् । यो कार्यक्रममा उनको अनुपस्थितिले मिडिया र अन्तर्राष्ट्रिय जगतमा विभिन्न शंका उपशंका शुरु भएको छ । कतिपयले किम जोङ अस्वस्थ रहेको र घरबाट बाहिर निस्कने स्थिति नरहेको अनुमान लगाएका छन् ।

उत्तर कोरियाले गत बुधबार आफ्नो संस्थापक किम इल सुंगको जन्मजयन्ती मनाएको थियो । सुंग वर्तमान नेता किम जोङको पिता हुन् । उत्तर कोरियाले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । यो दिन उत्तर कोरियामा सार्वजनिक बिदा दिइन्छ र श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिन्छ ।

कमसूसन दरबारमा बनेको किम इल सुंगको समाधीमा फूल चढाउनका लागि बुधबार देशका सबै उच्चपदस्थ नेता तथा अधिकारी दरबार पुगेका थिए । तर किम जोङ भने त्यहाँ उपस्थित भएनन् । जबकी अघिल्ला वर्षमा यो दिन किम जोङ विशेष रुपमा जान्थे र केही समय बिताउँथे । त्यो समयमा मिडियामा उनलाई प्रमुखताका साथ देखाइन्थ्यो । तर यसपटक सरकारी मिडियाले जारी गरेको फोटो र भिडियोमा किम जोङलाई देखाइएको थिएन ।

यसपछि ३६ वर्षका किम जोङको स्वास्थ्यलाई लिएर आशंका उत्पन्न हुन थालेका छन् । उनको मोटोपनका कारण स्वास्थ्यमा आएको समस्याबारे यसअघि पनि चर्चा भएको थियो । तर जहिल्यै उनी पश्चिमी मिडियालाई कुप्रचार गरेको भन्दै दोष लगाउँदै आएका थिए । यसपटक देशको प्रमुख दिवसमा उनलाई नदेखिनुलाई उनीप्रति गरिएको आशंका कतै सही साबित भएको छैन भनेर आँकलन पनि गर्न थालिएको छ । छिमेकी देश दक्षिण कोरियाबाट यो विषयमा चासो राख्ने मन्त्रालयका प्रवक्ताले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।