व्यापारमा सफल बलिउड अभिनेत्री

मुम्बई(एजेन्सी) । बलिउडका सुन्दर अभिनेत्रीहरु अभिनयमा मात्र नभई व्यापार व्यवसायमा पनि उत्तिकै सक्रिय छन् । केही अभिनेत्रीहरु त कम्पनीका मालिक नै हुन् । यो सूचीमा प्रीति जिन्टा, मलाइका अरोडा, शिल्पा शेट्टीदेखि लिएर केही दिग्गज अभिनेत्री पर्छन् ।

मिस इण्डिया र मिस युनिभर्स भइसकेकी ब्युटी क्वीन सुस्मिता सेन अभिनयसँगै विभिन्न व्यापार व्यवसाय पनि सम्हालिरहेकी छन् । सुष्मिता तन्त्रा इन्टरटेनमेन्ट प्रोडक्शन हाउसकी मालिक हुन् । उनी ज्वेलरी ब्राण्डको मालिक पनि हुन्, जसको स्टोर भारत र दुबईमा छन् । यसबाहेक उनी कैयौं होटल र स्पाका मालिक हुन् । मिस यूनिभर्स र मिस कन्टीनेन्टल भइसकेकी अभिनेत्री लारा दत्ता सफल व्यापारी पनि हुन् । उनी फिल्म निर्मातासँगै भीगी बसन्ती फिल्म प्रोडक्शन हाउसकी मालिक हुन् । यसबाहेक उनको फीमेल क्लोदिङ ब्राण्ड छ । उनले फिटनेस बुक र डीवीडी सार्वजनिक गरिसकेकी छन् ।

अभिनेता अक्षय कुमारकी अभिनेत्री श्रीमति ट्विंकल खन्ना विभिन्न व्यापार व्यवसायमा सक्रिय छिन् । उनी कैयौं देशमा क्यान्डल निर्यात गर्ने कम्पनीको मालिक हुन् । उनी इन्टेरियर डिजाइनिङ फर्म द ह्वाइट विन्डोको मालिक हुन् । उनको फिल्म प्रोडक्शन कम्पनी ग्रेजिङ गोट पिक्चर्स पनि छ । ट्विंकल लेखक पनि हुन् र उनले आफ्नो उपन्यास मिस फनीबोंस सन् २०१५ मा सार्वजनिक गरेकी थिइन् ।

बलिउडकी फिट अभिनेत्री शिल्पा शेट्टी फिल्म निर्मात्री हुन् । उनी प्रोडक्सन कम्पनीको मालिक पनि हुन् । उनी आइपीएल टीम राजस्थान रोयल्स, स्पा र सैलून चेन, योगा र फिटनेस वेन्चरकी मालिक हुन् । उनी टेलिभिजन प्रस्तोतासँगै टेलिभिजन रियालिटी शोकी निर्णायक पनि हुन् ।

अभिनेत्री प्रीति जिन्टा व्यापारको मामलामा नम्बर एक खेलाडी हुन् । उनी आइपीएल क्रिकेट टीम किङ्स इलेभेन पंजाबकी मालिक हुन् । उनी कैयौं अन्तर्राष्ट्रिय म्यागाजिनका लागि स्तम्भ लेख्छिन् । आफ्नो सानदार नृत्य र आइटम नम्बरबाट बलिउडमा तहल्का मच्चाएकी मलाइका अरोडा अभिनयसँगै व्यापारमा पनि माहिर छिन् । मलाइका अरोडा अनलाइन फेशन एसेसरीज उपलब्ध गराउन कम्पनी लेबल लाइफको कोअनर हुन् । यसबाहेक उनी टीवी शोको निर्णायक र फेसन एडिटर हुन् ।