कोरोनाविरुद्ध हङकङले पाएको यस्तो सफलता

हङकङ(एजेन्सी) । हङकङले पूर्ण रुपमा लकडाउन नगरीकन कोरोना संक्रमणका विरुद्ध जित हासिल गर्न सफलता पाएको छ । टेस्टिङ संख्या बढाउने, कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र मानिसको व्यवहारमा परिवर्तन गराएका कारण हङकङले यो सफलता पाएको हो । स्वास्थ्यसँगा सम्बन्धित प्रतिष्ठित पत्रिका ‘द लेन्सेट पब्लिक हेल्थ’ मा प्रकाशित एक अध्ययन अनुसार यो उपायले कडा लकडाउनको तुलनामा समाज र अर्थव्यवस्थालाई कम नोक्सान पु¥याउँछ । तर कोरोनाको प्रसारलाई नियन्त्रण गर्न पुर्ण रुपमा प्रभावकारी भएको छ ।

अध्ययनका प्रमुख लेखक तथा हङकङ विश्वविद्यालयका प्रोफेसर बेन्जामिन काउलिङका अनुसार स्वास्थ्य उपायलाई शुरुवातमै लागु गरेर हङकङले संक्रमणलाई प्रभावकारी रुपले रोक्न सकिन्छ भन्ने कुरा देखाएको थियो । यसका लागि चीन, अमेरिका र पश्चिमी यूरोपीय देशले अपनाएको कडा लकडाउनको सहारा लिनु परेन । अध्ययनले ३१ मार्चसम्म संक्रमण रोक्नका लागि सहरका अधिकारीहरुले अन्य देशको तुलनामा धेरै कठोर कदम उठाउनु नपरेको जनाएको छ ।

हङकङले चीनबाट आउने यात्रुबाट संक्रमण रोक्नका लागि जनवरीको अन्त्यदेखि निगरानी शुरु गरेको थियो । मार्चको शुरुवातबाट ठूलो मात्रामा टेस्टिङ शुरु गरेको थियो । संक्रमित व्यक्तिको सम्पर्कमा आउने व्यक्तिलाई बिरामी हुनुभन्दा दुई दिन अघि नै जहाँ क्वारेन्टाइनमा राखिएको थियो । त्यहीँ चीन र अन्य संक्रमित देशबाट आएका व्यक्तिलाई १४ दिनसम्म आफ्नो घरको क्वारेन्टाइनमा राखिएको थियो ।

हङकङ सरकारले विद्यालय बन्द गर्दै ठूला कार्यक्रम आयोजना गर्न रोक लगाउनु र शारीरिक दुरी कायम गर्न प्रोत्साहन गर्नु पनि अर्को महत्वपूर्ण कारक बन्यो । यही कारण ३१ मार्चसम्म ७५ लाख जनसंख्या भएको हङकङमा संक्रमितको संख्या ७ सय १५ थियो, जबकी मृतकको संख्या चार मात्र थियो । त्यस्तै ९४ बिरामीमा संक्रमण चाहिँ थियो, तर लक्षण देखिएको थिएन ।