लकडाउनमा सञ्जयले सम्झिए जेल जीवन

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण भारतभर लकडाउन छ । यस्तो अवस्थामा जो मानिस जहाँ छन्, त्यही बसिरहेका छन् । अहिलेको अवस्थामा बलिउड अभिनेता सन्जय दत्तले लकडाउनको तुलना आफ्नो जेल जीवनसँग गरेका छन् । जुन समयमा उनले आफ्नो कुरा बताउने कोही थिएनन् । अहिले सन्जय घरमा एक्लै छन् । किनकी उनकी पत्नी मान्यता दत्त बच्चाका साथ दुबईमा लकडाउनका कारण अड्किएकी छन् ।

सन् १९९३ को बमकाण्डमा दोषी ठहरिएका सन्जयले पाँच वर्ष जेल जीवन बिताइसकेका छन् । जेल जीवनमा सञ्जयले जसरी कठिन दिन बिताए, अहिले त्यही अनुभव लकडाउनमा घरमा एक्लै बस्दा गरिरहेका छन् । त्यसकारण सन्जयले लकडाउनको तुलना जेल जीवनसँग गरेका हुन् ।

‘लकडाउन एउटा कलाकारका लागि साच्चै उत्कृष्ट समय हो । यो समयमा जोकोही कलाकारले पनि अभिनयलाई पर राखेर अधिकांश समय आफ्नो परिवारसँग बिताउँछ । केही रिफ्रेश हुन्छ । तर जब लकडाउन भयो, मान्यता र छोराछोरी दुबईमा फसेका छन्’, सञ्जयले भनेका छन्, ‘मैले यो भन्दा अगाडि कैयौं वर्ष लकडाउनमा बिताएको छु । त्यो समयदेखि अहिलेसम्म एउटा कुरामा परिवर्तन भएको छ । त्यो हो भर्चुअलको माध्यमबाट म आफ्नो परिवारसँग नियमित रुपमा कुरा गरिरहेको हुन्छु । तर जेलमा यो सुविधा थिएन ।’