शैलीको विश्वस्तरीय बाल कविता प्रतियोगिता

काठमाडौं । शैली थिएटरले संस्थागत विद्यालय संघ, नेपाल (इसान)सँगको सहकार्यमा ‘विश्व बाल कविता महोत्सव–२०७७’ आयोजना गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम घटाउन सरकारले लकडाउन गरेपछि घरमै बसिरहेका बालबालिकालाई सिर्जनशील बनाउने लक्ष्यसहित कविता महोत्सव आयोजना गरिएको महोसव निर्देशक नवराज बुढाथोकीले बताए ।

उनले भने, ‘पहिलो चरणमा राष्ट्रिय स्तरको मात्रै प्रतियोगिताको सूचना सार्वजनिक गरेको शैलीले विश्वका अधिकांश देशमा लकडाउन भएकाले त्यहाँ रहेका नेपाली बालबालिकालाई समेत जोड्नका लागि यसको दायरा फराकिलो पारिएको छ । त्यसैगरी कविता पठाउनका लागि अन्तिम अवधि पनि थपिएको छ ।’ उनका अनुसार नेपालमा एसइई तयारी गरिरहेका वा त्यसभन्दा तलको कक्षामा अध्ययानरत विद्यार्थीको समकक्षी हुने विश्वका कुनै पनि देशमा रहेका नेपाली बालबालिकाले कविता पठाउन सक्नेछन् । कविता पठाउने अन्तिम मिति बैशाख मसान्त तोकिएको छ ।

प्रतियोगितामा समावेश हुने कविताको भाषा भने नेपाली नै हुनुपर्ने संयोजक सरस्वती अधिकारीले जानकारी दिइन् । ‘हामीले बालबालिकालाई आफ्नो भाषाको महत्व बुझाउनु पनि यो प्रतियोगिताको लक्ष्य हो । त्यसकारण नेपाली भाषालाई जोड दिएका हौं ।’

कविताको शीर्षक वा विषयवस्तु छनोटमा प्रतियोगीहरू स्वतन्त्र रहने भए पनि यसको भिडियोमा भने चार मिनेटको सीमा तोकिएको छ । कविता लिखित र प्रतियोगीले नै वाचन गरेको भिडियोगरी दुवै संरचनामा पठाउनु पर्ने उनले बताइन् ।

यसअघि हरेक बर्ष राष्ट्रिय बाल नाटक महोत्सव गरिरहेको शैलीले यस बर्षदेखि कविता महोत्सव पनि सँगै लिएर जाने योजना बनाइरहेको सह–निर्देशक सुवास सुवेदीले बताए । उनका अनुसार राष्ट्रिय बाल नाटक महोत्सवको समयमा प्रतियोगितामा उत्कृष्ट २० कविताले वाचनको मौका पाउनेछन् भने उत्कृष्ट ५ कविता पुरस्कृत हुनेछन् ।