युट्यूबमा वर्णमालापछि स्वरमाला

काठमाडौं । बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्यले नेपालयले संगीतकार तथा गीतकार आभाससँगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ । ती रचना सुन्न हेर्नका निम्ति छुट्टै च्यानलको सञ्चालन पनि भइसकेको छ ।

नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्यूबमा ‘नेपाली बाल रचना’ नामको च्यानल पनि केही महिना पहिल्यै सञ्चालनमा आएको हो । गएको तिहारमा नेपालयले सोही च्यानलमार्फत् बालबालिकाका निम्ति उपहार स्वरुप वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो । अब सोही च्यानलबाट स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक हुने भएको छ । स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले ‘अक्कलमान’ नामको चरित्र निर्माण गरेका छन् ।

‘अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म’ स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर–अक्षरलाई आभासले यसैगरि चार हरफका गीतमा उनेका छन् । कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुकासाथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्याउने छ ।

‘बालबालिकाहरू प्राकृतिक र रिदमिक हुन्छन्, त्यसैले उनीहरूलाई भाका र तालले छिट्टै आकर्षित गर्छन् र सजिलै नयाँ कुरा सिक्छन । त्यही महसुस गरेर मैले शैक्षिक कुरामा पनि धुन भरेको हुँ । यो संसारभरि सफल भएको सिकाउने उत्तम शैली पनि हो । हाम्रो भाषामा यस्ता रचनाहरू अझ धेरै सृजना गर्नु जरुरी छ ।’ सर्जक आभासले भने । वर्णमालामा गायिकाहरू मीना निरौला र बेनुका राईले स्वर दिएका छन् । स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ ।