यसकारण अलग्गिदैनन् अजय र रोहित

मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘गोलमाल’, ‘सिंघम’, ‘जमीन’, ‘बोल बच्चन’, ‘सन्डे’ जस्ता फिल्ममा बलिउड निर्देशक रोहित सेठ्ठी र अभिनेता अजय देवगनको सहकार्य लोभलाग्दो छ । जुन फिल्ममा अजय हुँदैनन्, त्यो फिल्ममा काजल हुन्छिन् । त्यसो त रोहितले यी दुवै कलाकारलाई मात्र लिएर फिल्म बनाउने गर्दैनन् । तर उनले आफ्ना फिल्ममा कहिँ न कहिँ अजय वा काजललाई लिएका नै हुन्छन् ।

धेरैलाई लाग्न सक्छ, रोहित र अजयबीचको यो सहकार्यको रहस्य के होला ? यी दुईबीच एउटा मौन सहकार्य छ, जुन सहकार्यबारे जोकोहीलाई थाहा छैन् । अजय र रोहित साथी पनि हुन् र दाजुभाइ पनि । रोहितको हेरचाहमा अजयका पिता वीरुको ठूलो हात छ । अजय र रोहितको हेरचाहसँगै भएको थियो र दुवै एकैसाथ ठूला भएका थिए ।
रोहित वीरुलाई आफ्ना पितामात्र होइन, गुरु पनि मान्छन् । उनले वीरुलाई श्रद्धान्जली दिँदै इन्स्टाग्राममा आफ्नो गुरु र पिता बताएका थिए ।

‘दुई बालकलाई वास्तविक हिरो बनाउने पिताको भूमिका अहम थियो’, उनले लेखेका थिए । रोहितले इन्स्टाग्राममा आफ्नो स्टन्टको भिडियो पनि शेयर गरेर आफ्नो गुरु र अजयका पिता वीरुको सम्झना गरेका थिए । उनले ‘१६ वर्षको उमेरमा मैले स्टन्ट शुरु गरेको थिएँ । जुन ४५ वर्षको उमेरमा पनि जारी छ । मलाई थाहा छ कि एक मानिस छन्, जो स्वर्गमा पनि मप्रति जहिल्यै गर्व गर्छन्, मेरा गुरु, मेरो पिता वीरु देवगन’ भन्दै लेखेका छन् ।

अजय र रोहित सँगै पढेको र बढेको बारेमा अहिलेसम्म न त अजयले न त रोहितले नै जानकारी दिएका छन् । उनीहरुको प्रेमको बण्डिङ यस्तो थियो कि वीरुले दुवैलाई कहिल्यै नै मायामा अन्तर गरेनन् । यही कारण पनि उनीहरुको बन्डिङ जबरजस्त छ । त्यसकारण पनि रोहितको फिल्ममा अजय हुनु कुनै सम्झौता नभई आवश्यकता हो । यसकारण बलिउडमा कहिलेकाँही प्रेमको बन्डिङले फिल्ममा पनि काम गर्छ भन्ने चर्चा चल्ने गर्दछ ।