रेड सिक्वेलको तयारी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अजय देवगन पछिल्लो फिल्म ‘तानाजी द अनसङ वारियर’ बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भयो । फिल्मको निर्देशन ओम राउतले गरेका थिए भने यसमा भूषण कुमार, कृष्ण कुमार र अजय देवगनले मिलेर लगानी गरेका थिए ।

‘तानाजी’ जस्तो सुपरहिट फिल्म दिएका अजय अब ‘भुज द प्राइड अफ इण्डिया’का लागि पुनः एकपटक भूषण कुमारसँग सहकार्य गर्दैछन् । फिल्मको निर्देशन अभिषेक दुधईयाले गर्नेछन् । फिल्म ‘भुज’का लागि सहकार्य गर्नु अघि भूषण र अजयले सन् २०१८ मा ब्लकब्लष्टर भएको फिल्म ‘रेड’को सिक्वेलको योजना बनाइरहेका थिए । अहिले पनि यी दुई फिल्मको रिमेकको काम गरिरहेका छन् । फिल्मको कथा सन् १९८० मा आयकर विभागले गरेको सबैभन्दा ठूलो रेडको बारेमा थियो ।

‘रेड’को कथा रितेश शाहले लेखेका थिए र यसको निर्देशन राजकुमार गुप्ताले गरेका थिए । सिक्वेलमा इन्टेलिजेन्स एजेन्सीका ती हिरोका कथा देखाइनेछ, जो गलत काम गर्नेको भण्डाफोर गर्छन् । कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा अजयको फिल्म ‘भूज’सहित अन्य कलाकारको फिल्मको काम रोकिएको छ ।