लकडाउनको दुःखः तरकारी बेच्दै कमेडीयन

मुम्बई(एजेन्सी) । भारतका एक प्रख्यात कमेडीयन तथा अभिनेतालाई आफ्नो परिवार पाल्नका लागि दैलो–दैलोमा तरकारी बेच्नु परेको छ । लकडाउनका कारण परिवारको आर्थिक अवस्था खस्किएपछि कमेडीयन तथा अभिनेता रवि कुमार उर्फ ब्ल्याक रवि तरकारी बेच्न थालेका हुन् । उनको क्रियाकलापबाट फ्यान दुःखी भएका छन् ।

कोरोना भाइरसको कहरले आम मानिसको जिन्दगीमा यति धेरै हावी भएको छ कि उसको पूर्ण जीवनशैली नै बदलिएको छ । उनीहरुको जीवनमा ठूलो उथलपुथल मच्चिएको छ । त्यसैको उदाहरण रवि बनेका छन् ।

रविले लकडाउनका कारण फिल्मजगतका सारा काम बन्द भएपछि त्यसको असरले आफूसहित दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन बिकराल बनेको बताए । ‘लकडाउनका कारण मेरो सारा कमेडी शो रद्द भएको छ । म जुन कार्यक्रमको हिस्सा बन्न लागेको थिएँ, त्यसको काम पनि रोकिएको छ । यो अवस्थामा मसँग केही काम छैन । आर्थिक समस्याले हालत खराब भइसकेको छ । मेरो ठूलो परिवार छ र सबैको हेरचाह मैले नै गर्नुपर्छ’, उनले भनेका छन् ।

आर्थिक संकट भएपछि रविले पैसा कमाउनका लागि अण्डा बिक्री गर्ने पसल खोलेका थिए । तर त्यो पसल पनि राम्रो नचलेपछि उनले तरकारी बेच्ने निर्णय लिए । लकडाउनका समयमा रवि आफ्नो दुई पांग्रे साइकल लिएर मानिसको घर–घर पुगेर तरकारी बेच्ने काम गरिरहेका छन् ।

रवि ओडिया फिल्म उद्योगका चर्चित कलाकार हुन् । उनको शो हिन्दी भाषी दर्शक पनि खुबै रुचाउँछन् । रविले ३० भन्दा बढी ओडिया फिल्ममा काम गरिसकेका छन् । उनी मिमिक्रीका लागि पनि उत्तिकै चर्चित छन् । उनी तरकारी बेचेसँगै मानिसहरुलाई कोरोना भाइरसबारे उत्तिकै जागरुक गराइरहेका छन् ।