कोरोनाको व्यथा, अध्यादेशको कथा बनाउदै हरिवंश

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापीमा महामारीको रुप लिइसकेको छ । विश्वका प्रायः देशहरुले यो संक्रमणलाई फैलनबाट रोक्नका लागि लकडाउन गरेका छन् । लकडाउनको समयमा जो मानिस जहाँ छ, त्यही बस्नुपर्ने हुन्छ ।

केही समय अघि बलिउडका कलाकारले घरमै बसेर एउटा सर्ट फिल्म बनाएका थिए । त्यो सर्ट फिल्मलाई उनका फ्यानहरुले निकै मनपराए । नेपालका अभिनेता सन्दिप क्षेत्रीले पनि बलिउडकै सिको गर्दै ‘लकडाउन’ नामक सर्ट फिल्म बनाएका छन् । लकडाउनका कारण घरमै बसिरहेका एक युवक घरबाहिर निस्कन छटपटाएपछि उनको परिवारले उनलाई सम्झाएको प्रसंगलाई फिल्ममा देखाइएको छ ।

फिल्मको एक दृश्यमा अभिनेता हरिवंश आचार्यले हातमा रहेको स्क्रिप्ट सन्दिपलाई देखाउँदै आफूले ‘कोरोनाको व्यथा, अध्यादेशको कथा’ नामक फिल्म बनाउन लागेको बताएका छन् । गीतार सिक्नलाई बाहिर जान लागेको बताउने सन्दिपलाई हरिवंशले घरमै बसेर अनलाइनमाध्यमबाट गीतार सिक्न आग्रह गरेका छन् ।
सन्दिपका अनुसार यो भिडियो सामाग्री कोही पनि घरबाहिर निस्किइकन घरमै बसेर आफ्नै हिसाबले भिडियो खिचेर पछि त्यसलाई सम्पादन गरेर जोडिएको छ । सन्दिपले ‘अहिलेको समयमा सामाजिक दुरी कायम राखौं, तर भावनात्मक होइन’ भन्ने सन्देश दिन खोजेको बताए ।

सन्दिप क्षेत्रीकै कथा रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, सन्दिप क्षेत्री, निर्मल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला र सञ्जय श्रेष्ठको अभिनय छ ।