ऋषि कपूरको स्वेटरमा शाहरुखको रोमान्स

मुम्बई(एजेन्सी) । बलिउडको ब्लकब्लष्टर रोमान्टिक फिल्ममध्ये एक ‘दिलवाले दुल्हनिया ले जाएंगे’ सबैले सम्झने फिल्ममा पर्दछ । शाहरुख खान र काजोलको यो फिल्म देश र विदेशका फ्यानमाझ सर्वाधिक लोकप्रियमध्येमा पर्दछ । तर तपाईंलाई एउटा कुरा थाहा नहोला कि यो फिल्ममा अभिनेता ऋषि कपुरको सम्बन्ध पनि जोडिएको छ ।

अभिनेता ऋषि बलिउडका प्रतिभाशाली अभिनेतामध्येका एक हुन् । उनले आफ्नो समयमा कैयौं रोमान्टिक फिल्ममा काम गरेका छन् । एक समय थियो, ऋषि कपुरले ‘चाँदनी’, ‘बोबी’ र ‘खेल खेल मे’ जस्ता फिल्ममा काम गरेका थिए । उनी बलिउडको रोमान्टिक हिरोमध्ये एक थिए । तर सबैको चासो छ कि उनको बलिउडको सबैभन्दा चर्चित रोमान्टिक फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’सँग कसरी सम्बन्ध जोडियो ?

बलिउड निर्माता तथा निर्देशक करण जोहारले आफ्नो बायोग्राफी ‘एन सुटेबल बोय’मा ऋषिको ‘दिलवाले दुल्हनिया ले जाएंगे’सँगको सम्बन्धका बारेमा लेखेका छन् । करणका अनुसार यो फिल्मको समयमा जब निर्माता आदित्य चोपडा फिल्मका लागि चाहिने आवश्यक पहिरनको तयारी गरिरहेका थिए, त्यो बेला शाहरुख खानका लागि कुनै राम्रो कपडा चाहिएको थियो । जुन कपडा फिल्मको ‘ना जाने मेरे दिल को क्या’ गीतको अन्त्यमा शाहरुखले लगाएका हुन्छन् । फिल्ममा यो कपडा लगाएका शाहरुखलाई काजोलले बाई गर्दै आफ्नो घर बाहिर सोचिरहेको हुन्छिन् ।

पहिरनका लागि फिल्मको बजेट हेर्दै केही ठूलो या महंगो पहिरन खरिद गर्न सक्ने अवस्था थिएन । त्यसबेला करण जोहारले मुम्बईको स्टुडियोमा रहेको पुराना कपडाको थुप्रोलाई पल्टाउन थाले । जसमा एउटा रातो र सेतो रंगको स्वेटर भेटियो । यो त्यही स्वेटर थियो, जुन स्वेटर ऋषि कपूले आफ्नो आइकनिक फिल्म ‘चाँदनी’मा लगाएका थिए । उक्त फिल्ममा ऋषि कपूरको त्यो लुक्सका कारण तत्कालिन समयमा त्यो स्वेटर केटामाझ फेसन नै बन्यो । त्यो स्वेटरमा एउटा प्वाल परेको थियो, जसलाई करण आफैंले सिलाएका थिए ।