खराब खानपानले जन्मिन्छ भाइरस

वासिङ्टन(एजेन्सी) । राम्रो स्वास्थ्यका लागि पौष्टिक आहारको भूमिका महत्वपूर्ण हुन्छ । यस्तो खानपानले मेटाबोलिक हेल्थलाई मात्र राम्रो बनाउँदैन, कैयौं रोगबाट बचाउने काम पनि गर्दछ । हालै गरिएको एक नयाँ अध्ययनले यस्ता पौष्टिक आहारको कमीले कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको खतरा बढी हुने गरेको देखाएको छ ।

अमेरिकाको टफ्ट्स युनिभर्सिटकिा फ्रीडमेन स्कूल अफ न्यूट्रिशन साइन्सका डिन डा. डेरियस मोजफेरियनले पौष्टिक आहारको कमी खराब स्वास्थ्यको प्रमुख कारण हुने बताए । ‘मेटाबोलिक राम्रो नहुँदा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । जसको नतिजा हृदय रोग, टाइप २ डाइबेटिज र मोटोपन सम्बन्धी क्यान्सर रोगको खतरा बढ्ने हुन्छ । यी सबै कोरोनाको चपेटामा पर्न सक्ने प्रमुख कारक बन्न सक्छन्’, उनले भनेका छन् ।

अध्ययनकर्ताका अनुसार मेटाबोलिक लक्षणमा कम्मर वरपर मोटोपन, उच्च रक्तचाप, उच्च ब्लड सुगर र असामान्य कोलेस्ट्रोलको स्तर जस्ता समस्या खडा हुन्छ । जसकारण प्रतिरक्षा प्रणालीमा बाधा आउँछ र संक्रमण, निमोनिया र क्यान्सरको खतरा बढ्न सक्छ । अमेरिकामा करिब एक तिहाई वयस्क मेटाबोलिक लक्षणको समस्याबाट पीडित छन् । यस्ता मानिसमा कोरोना भाइरसको खतरा सर्वाधिक हुने गर्दछ ।

अध्ययनकर्ताले यस्तो अवस्थाबाट बच्नका लागि केही सुझाव पनि दिएका छन् । उनीहरुका अनुसार पौष्टिक खानपान र सन्तुलित जीवन शैली अपनाएर मेटाबोलिक लक्षणबाट बच्न सकिन्छ । यसबाहेक नियमित व्यायाम, हरियो सागसब्जी, फलफूल र अन्नको भरपूर सेवन गर्नाले यो लक्षणबाट बच्न सकिने उनीहरुको तर्क छ । उनीहरुले बोसोयुक्त खाने कुरा अत्यन्त कम खान आग्रह गरेका छन् ।