कोरोनाका कारण जम्ल्याहा नर्सको निधन

लण्डन(एजेन्सी) । यहाँका जम्ल्याहा दिदीबहिनीको तीन दिनको अन्तरमा कोरोना भाइरसका कारण निधन भएको छ । बालबालिकाको नर्स केटी डेभिस(३७) को साउथएम्पटन जेनेरल अस्पतालमा गत मंगलबार निधन भएको हो । त्यस्तै पूर्व नर्स एम्माको पनि अघिल्लो शुक्रबार सोही अस्पतालमा निधन भएको हो ।

‘उनीहरु हामी विश्वमा सँगै आयौं र सँगै जान्छौं भन्थे’ दुवैका दिदी जोइले भनेकी छन्, ‘उनीहरुको जोडी गज्जबको थियो । उनीहरु सँगै बस्थे, अरुको स्वास्थ्यमा निकै चासो राख्थे । उनीहरुको स्वास्थ्य पनि राम्रो थियो, तर भाइरसले उनीहरु अस्वस्थ बने । उनीहरु हाम्रा लागि कति विशेष थिए भन्ने कुराको शब्द नै छैन ।’

जोइका अनुसार उनीहरु अन्य मानिसको सहयोगका बारेमा जहिल्यै चासो राख्दथे । उनीहरु ठूलो हुँदा पनि डाक्टर र नर्स भएर आफ्ना गुडियाको स्याहार सुसार गर्थे । ‘उनीहरुले हेरेका सबै बिरामीलाई आफ्ना सबै कुरा दिए । त्यसकारण उनीहरु असाधारण थिए । त्यो वास्तविक हो भन्ने कसैलाई लाग्दैन थियो’, उनले भनेकी छन् ।

यूनिभर्सिटी हस्पिटल साउथएम्पटन एनएचएस फाउण्डेसन ट्रस्टका प्रमुख कार्यकारी पाउला हेडले केटीलाई उनका समकक्षीहरुले एकदमै सहयोगी मानेको बताए । द रोयल कलेज अफ नर्सिङले केटीलाई काम प्रति कटिबद्ध र स्वार्थरहित नर्स भन्दै आफ्नो ज्ञान र सिप हरेक समय अन्यसमक्ष बाँडेर बिरामीलाई राम्रो ख्याल गर्ने गरेको जनाएको छ । एमाले केटी नै कार्यरत अस्पतालको कोलोरेक्टल सर्जरी यूनिटमा सन् २०१३ सम्म झन्डै नौ वर्ष काम गरेकी थिइन् ।