क्रिकेटर बन्न चाहन्थे शोलेका साम्भा

मुम्बई(एजेन्सी) । फिल्म ‘शोले’मा साम्भाको भूमिका निभाएका म्याक मोहनको आज जन्मदिन हो । यो फिल्ममा उनले निभाएको साम्भाको चरित्रलाई उत्कृष्ट चरित्र मान्ने गरिन्छ । उनको जन्म २४ अप्रिल १९३८ मा कराँचीमा भएको थियो । उनको निधन एक रोगका कारण सन् २०१० को मे १० मा भएको थियो ।

नातामा म्याक अभिनेत्री रवीना टण्डनकी मामा हुन् भन्ने कुरा धेरै कम मानिसलाई मात्र थाहा छ । म्याकका पिता भारतमा ब्रिटिस सेनामा एक कर्नेल थिए । उनको सन् १९४० मा कराँचीबाट लखनऊ सरुवा भएको थियो । उनले आफ्नो पढाई लखनऊमा गरे । उनी सानै उमेरदेखि नै क्रिकेटको सौखिन थिए । त्यसकारण उनको चाहना कुशल क्रिकेटर बन्ने थियो । तर भाग्यले उनलाई कुशल अभिनेता बनाइदियो ।

त्यो समयमा क्रिकेटको राम्रो तालिम केबल मुम्बईमा मात्र दिइन्थ्यो । त्यहीकारण क्रिकेट सिक्नका लागि उनी सन् १९५२ मा मुम्बई आए । तर मुम्बई आउना साथ उनको ध्यान क्रिकेट भन्दा पनि थिएटर तिर गयो । प्रख्यात गीतकार कैफी आज्मीकी पत्नी शौकत कैफको एक नाटकका लागि एक पातलो शरीर भएको कलाकार चाहिएको थियो । यो कुरा म्याकका एक साथीले उनलाई सुनाए । त्यो समयमा उनलाई पैसाको आवश्यकता परेकाले पैसा कमाउन जे काम गर्न पनि तयार थिए । त्यही कारण उनले यो नाटकमा काम गर्ने इच्छाका साथ शौकतलाई भेटेपछि अभिनयको अवसर पाए ।

सन् १९६४ मा म्याकले बलिउडमा आफ्नो शुरुवात फिल्म ‘हकिकत’बाट गरे र ४६ वर्षको करियरमा उनले करिब १ सय ७५ फिल्ममा काम गरे । तर उनलाई सदाबहार चिनाउन चरित्र फिल्म ‘शोले’को साम्भा नै थियो । फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, जया बच्चन, अमजद खान र संजीव कुमार जस्ता ठूला कलाकारको अभिनय थियो । तर म्याकको छोटो भूमिकाले उनलाई सदाबहार चिनाइ रहयो ।

जब म्याक फिल्म ‘आतिथ तुम कब जाओगे’को सुटिङ गरिरहेका थिए । त्यो बेला उनको स्वास्थ्य बिग्रियो । उनलाई मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ डाक्टरले उनलाई फोक्सोमा ट्यूमर भएको बताएका थिए । पछि उनको ट्यूमरकै कारण निधन भयो ।