रियाद(एजेन्सी) । साउदी अरबको सर्वोच्च अदालतले त्यहाँ दशकौं देखि चल्दै आएको सजाय स्वरुप कोर्रा लगाउने चलनलाई रोक लगाएको छ । अदालतले आफ्नो आदेशमा कोर्रा लगाउनको सट्टा जेल सजाय वा जरिवाना भराउन सरकारको नाममा आदेश जारी गरेको छ । अदालतको यो आदेशलाई साउदी राजा सलमान, उनका छोरा युवराज मोहम्मद बिन सलमानले मानव अधिकारको सुधार र विस्तारका लागि गरेको एउटा प्रयाससँग जोडिएको छ ।
साउदी अरबको केही कानून र हालैको वर्ष साउदी पत्रकार जमाल खाशोज्जीको हत्याको विषयलाई लिएर त्यहाँको सरकारको निकै आलोचना भइरहेको छ । आलोचना गर्ने समूह र मानवअधिकारकर्मीले साउदी अरब विश्वकै सबैभन्दा बढी मानव अधिकार उल्लंघन गर्ने देशमध्ये एक रहेको आरोप लगाउँदै आएका छन् । साउदी अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर रुपमा प्रतिबन्ध छ र जहाँ शासनका विरुद्ध बोल्नेलाई जुनसुकै समयमा पनि गिरफ्तार गर्न सकिन्छ ।
बितेको केही वर्षमा साउदी अरबमा कोर्रा लगाउने सजाय त्यो बेला चर्चामा आयो, जब सन् २०१५ मा ब्लगर रैफ बादावीलाई सार्वजनिक रुपमा नै कोर्रा लगाइएको थियो । उनीमाथि सरकारले साइबर क्राइम र इस्लामको अपमान गरेको आरोप लगाइएको थियो । बदावीलाई जून २०१२ मा पक्राउ गरिएको थियो । उनलाई १० वर्ष जेल सजाय र १ हजार कोर्रा लगाउने सजाय सुनाइएको थियो । बदावी माथि आफ्नो वेभसाइट ‘साउदी लिबरल नेटवर्क’बाट इस्लामको अपमान गरेको, साइबर अपराध गरेको र आफ्नो पिताको अवहेलना गरेको आरोप थियो । हाल यो वेभसाइट बन्द गरिएको छ । उनीमाथि गरिएको सजाय अमेरिका र मानव अधिकार संस्थाले निन्दा गरेका थिए ।
तर राजा र युवराजप्रति असन्तुष्टि जनाउने व्यक्तिहरुमाथि लगातार गिरफ्तारी भइरहँदा अदालतको आदेश सही रुपमा पालन हुने हो वा होइन भन्ने शंका पनि उत्पन्न भएको छ । पक्राउ पर्नेमा महिला अधिकारकर्मी पनि छन् । यसअघि शुक्रबार साउदी अरबको चर्चित मानव अधिकारकर्मीको जेलमा हृदयघातका कारण निधन भएको थियो । उनको स्वास्थ्यमा प्रशासनले चासो नदेखाएकाले उनको ज्यान गएको आरोप अन्य मानवअधिकारकर्मीको छ ।