राष्ट्रपतिले मास्क लगाउन नजानेपछि…

केपटाउन(एजेन्सी) । विश्वव्यापी फैलिएको कोरोना महामारीको संकटले दक्षिण अफ्रिका पनि अछुतो छैन । त्यहाँका राष्ट्रपति सिरिल रामफोसाले शनिबार आफ्ना नागरिकलाई मास्क लगाउन सिकाउँदा उनको पसिनै छुट्यो । टेलिभिजनको प्रत्यक्ष प्रसारणमा उपस्थित भएर राष्ट्रपतिले आम नागरिकलाई मास्क लगाउँदाको फाइदा सिकाउन खोजे पनि उनी आफैंलाई चाहिँ मास्क लगाउन हम्मे नै पर्यो । त्यहाँ राष्ट्रपतिले आगामी महिनादेखि देशमा लकडाउनमा केही खुकुलो बनाउने बताएका थिए ।

राष्ट्रपतिले नागरिकलाई सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस मास्क लगाउन आग्रह गरेका थिए । त्यसपछि उनले नागरिकलाई मास्क लगाउन सिकाएका थिए । त्यही समयमा सबै काम राष्ट्रपतिको योजना अनुसार हुन सकेन । राष्ट्रपति जब कपडाबाट बनेको मास्क लगाइरहेका थिए, उनको कानमा मास्क अड्कियो र त्यसलाई लगाउन उनलाई सकस नै पर्यो ।

उनलाई मास्कले यति सकस दियो कि मास्क निकाल्न प्रयास गर्दा पनि उनको आँखा मास्कले छोपिदियो । राष्ट्रपतिले मास्क निकालेको भिडियो अहिले सामाजिक सन्जालमा छाइरहेको छ । सामाजिक सन्जालमा आफ्नो बारे चर्चा भएपछि राष्ट्रपतिले विज्ञप्ती नै निकाल्नु परेको छ । ‘हिजो जो मानिसहरु म माथि हाँसिरहेका थिए । म एक टेलिभिजन च्यानल खोल्न जाँदैछु, जहाँ म मानिसलाई भन्नेछु कि मास्क कसरी लगाउने । तपाईंहरु मास्क लगाउने तरिका सिक्नका लागि नाम टिपाउन सक्नुहुन्छ’, राष्ट्रपतिले ट्वीट गरेका छन् ।

राष्ट्रपतिको यो कुरालाई एक प्रयोगकर्ताले ‘मेरो परिवार र म तपाईंको भिडियो हेरेर मज्जाले हाँस्यौं । सांकेतिक भाषाका माध्यमबाट बताउने महिला पनि पुरै भाषणभरी निकै जोशमा थिइन्, तर अन्त्यमा उनले भन्ने कुरा पनि केही थिएन’ भन्दै प्रतिक्रिया दिएका छन् । दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण हालसम्म ७९ जनाको निधन भइसकेको छ ।