किम जोङबारे अनेक अड्कलबाजी

प्योङयाङ(एजेन्सी) । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्यलाई लिएर अनेकन अड्कलबाजीले विश्व बजार तातेको छ । करिब १५ दिनदेखि गुमनाम किम कस्तो अवस्थामा छन् भन्नेबारे फरक–फरक दाबी गरिएको छ । केही सञ्चारमाध्यमले किमको निधन भइसकेको बताए पनि केहीले भने अन्तिम अवस्थामा रहेको जनाएका छन् । यदी किमको निधन नै भएको हो भने पनि सोमबारसम्म यसको घोषणा हुने केहीले जनाएका छन् । कोरियामा सर्वोच्च नेताको निधनको खबर ढिलो गरी सार्वजनिक गर्ने इतिहासदेखि चलिआएको चलन हो । यसअघि किमका पिता किम जोङ इलको निधनको घोषणा पनि ४८ घण्टापछि गरिएको थियो ।

हङकङ टेलिभिजन न्यूज च्यानल एचकेएसटीभीका सहायक निर्देशक किङ फेङ किमको निधन भइसकेको दाबी गर्छन् । जापानको एक पत्रिका शुकान गेंदाईले मुटुको सर्जरीपछि किम ब्रेन डेड जस्तो अवस्थामा रहेको बताएको छ ।

सन् २०११ मा किम जोङ इलको निधन १७ डिसेम्बरमा हृदयघातबाट भएको थियो । जसको घोषणा १९ डिसेम्बरमा गरिएको थियो । त्यो समयमा टेलिभिजन प्रस्तोता री चुन हीले उनको निधनको घोषणा गरेकी थिइन् । अहिले पनि उत्तर कोरियाका मानिसको नजर के चुन नै कालो कपडा लगाएर बिहानको समाचार पढ्नेछिन् भन्नेमा छ । यदी चुनले कालो कपडा लगाएरै समाचार वाचन गरिन भने त्यो अनर्थको संकेत हुनसक्ने अनुमान गरिएको छ । किम जोङ इलको अन्तिम संस्कार निधनको ९ दिनपछि गरिएको थियो । यसबाट त्यस्तै भयो भने किम जोङ उनको अन्तिम संस्कार मे ५ मा हुनेछ ।

कोरियन पेनिनसुलर एक्सपर्ट र वल्र्ड एण्ड नर्थइस्ट एशिया पीस फोरमका अध्यक्ष जाङ सुङ मिन पनि किम जोङ उनको निधन भइसकेको दाबी गर्छन् । जाङले उत्तर कोरिया प्रशासनको एक सूत्रको हवाला दिँदै किमको अवस्था अब कहिल्यै ठिक नहुने दाबी गरेका छन् ।

किमको स्वास्थ्यका बारे अनेक अड्कलबाजी भइरहँदा चीनले आफ्नो डाक्टरको एक टिम कोरिया पठाएको छ । चीनले किमलाई मेडिकल सल्लाह दिन पठाएको जनाएको छ । किमको स्वास्थ्य खराब भएको समाचार सार्वजनिक भएपछि अब उनको उत्तराधिकारी को हुन्छ भन्ने अड्कलबाजी पनि शुरु भएको छ ।

विज्ञहरुका अनुसार किमी बहिनी किम यो जोङ किमको छोरालाई शासकका रुपमा घोषणा गर्दै पर्दा पछाडि बसेर सत्ता सम्हाल्न सक्छिन् । किमका छोरा अहिले १० वर्षका मात्र छन् । केही दिन अघि उनको बहिनी यो जोङलाई केन्द्रीय समितिको राजनीतिक व्युरो सदस्य सुनिएको थियो । यो पद देशको महत्वपूर्ण पद हो ।