धड्कन सिक्वेलमा अक्षय–सुनिलका छोरा हिरो

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमार र सुनिल सेठ्ठीको अभिनय रहेको सन् २००० को फिल्म ‘धड्कन’ दर्शकले अझैं सम्झिइरहेका छन् । यो फिल्म मनपराउने दर्शकका लागि एउटा खुशीको खबर छ । अभिनेता सुनिलका अनुसार फिल्मको सिक्वेल बन्ने सम्भावना धेरै छ ।

फिल्मको सिक्वेलमा अक्षय र सुनिल चाहिँ दोहोरिने छैनन् । फिल्मका निर्माताहरुले अक्षय र सुनिलको उमेरका कारण पनि उनीहरुलाई फिल्ममा नलिने जनाउ दिइसकेका छन् । फिल्ममा अक्षय र सुनिलका छोराहरु आरभ र आहान देखिनेछन् ।

अभिनेता सुनिलले फिल्मका बारेमा निर्माता रतन जैनसँग कुराकानी गरिसकेका छन् । ‘म र अक्षय उमेरले बुढो भइसक्यौं । अहिलेको समयमा दर्शकहरु हामी बुढाले रोमान्स गरेको हेर्न रुचाउँदैनन् । तर यो सिक्वेलमा हाम्रा छोराहरुले अभिनय गर्न पाए भने त्यो भन्दा खुशीको कुरा अरु केही हुँदैन । तर शिल्पाकी छोरी निकै सानी भएकीले फिल्ममा उनलाई अलिक गाह्रो होला कि ?’ सुनिलले भनेका छन् ।

यदि निर्माताको योजना अनुसार सबै कुरा मिल्यो भने फिल्मको सुटिङ २०२१ मा शुरु हुनेछ । ‘हामी कहिले कास्टिङको काम गरिरहेका छौं । कोरोना महामारी र लकडाउनका कारण स्क्रिन टेस्ट र लुक टेस्टको काम रोकिएको छ ।’ जैनले भनेका छन् ।