मृत भनिएकी महिला जिउँदो भएपछि…

क्विटो(एजेन्सी) । सारा विश्व कोरोना भाइरस महामारीका कारण डरको माहौलमा छन् । कैयौं स्थानमा कोरोनाका कारण ज्यान गुमाएका मानिसहरुको अन्तिम संस्कारमा परिवारलाई सहभागी हुन दिइएको छैन । कैयौं देशमा परिवारहरु संक्रमणको डरले आफ्नो मान्छेको शवको नहेरी दाहसंस्कार गरिरहेका छन् । तर कहिलेकाँही शव नै नहेरी उसको अन्तिम संस्कार गर्दा परिवारका सदस्यको जीवनमा अनौठो घटना हुन जान्छ ।

हालै मात्र एक परिवारका महिला सदस्यको कोरोना संक्रमणका कारण निधन भएको खबर अस्पतालले दिएको थियो । परिवारका सदस्यले शवको पहिचान नै नगरी अन्तिम संस्कार गरेको केही दिनमा ती महिला जीवित रहेको खुलेको हो । ७४ वर्षीया एक महिलालाई डाक्टरले २७ मार्चमा मृत घोषित गरेका थिए । त्यसअघि तीन हप्ता ती महिला बेहोस भएकी थिइन् । महिलाका परिवारजनले कुनै अन्य व्यक्तिको शवलाई ती महिलाको सम्झिएर अन्तिम संस्कार गरेका थिए । अल्बा मारुरी नाम गरेकी महिलाको शव नै अन्तिम संस्कार गरिएको परिवारको बुझाई थियो ।

अस्पताल प्रशासनले उनको परिवारलाई मुर्दाघरमा एक शव देखाएर शवको पहिचान गर्न आग्रह गरेका थिए । तर भाइरस संक्रमणको डरले कोही पनि शवको नजिक गएनन् । शवको अनुहार हेर्न पनि परिवारजन डराइरहेका थिए । उनीहरुले टाढैबाट शव हेरे र शवलाई अल्बा सम्झेर अन्तिम संस्कार गरे ।

मारुरीका भतिजाका अनुसार आफ्नो आन्टी सम्झेर नै उनीहरुले अन्तिम संस्कार गरेका थिए । ‘म उहाँको अनुहार हेर्न डराइरहेको थिएँ । म शवदेखि करिब डेढ मिटरको दुरीमा थिए । शवको कपाल र अनुहारको रंग मारुरीसँग मिल्जोजुल्दो थियो’, भतिजाले भनेका छन् । यसैबीच अप्रिल २३ मा महिलाको होश आयो र उनले डाक्टरलाई आफ्नोबारे बताइन् ।

त्यसपछि अस्पताल प्रशासनले परिवारका सदस्यसँग सम्पर्क गर्यो । यो खबर सुन्नासाथ परिवारका सदस्यहरु खुशीले उफ्रिएका थिए । यो घटना पछि अस्पतालको कर्मचारीको रवैया देखेर आलोचना पनि भइरहेको छ । अल्बा मारुरीका परिवारजनले अपरिचित महिलाको शवको अन्त्येष्टीमा भएको खर्चको मुआब्जा माग गरेका छन् ।